रुपन्देहीका सुनचाँदी व्यवसायीको विरोध जारी

बुटवल,असार २३

पसल बन्द गरेर सडक आन्दोलनमा उत्रिएका रुपन्देहीका सुनचाँदी व्यवसायीहरूले सोमबार पनि विरोध एवम अनुगमन गरेका छन् ।सरकारले बजेटमार्फत् सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट अव्यवहारिक रहेको भन्दै आन्दोलनरतसुनचाँदी व्यवसायीहरूले आज पनि रुपन्देहीका विभिन्न स्थानमा बृहत मोटरसाइकल ¥याली  विरोध सभा तथा अनुगमन गरेका हुन् ।

रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजनामा तिलोत्तमाको मणिग्रामबाट सुरु भएको अनुगमन एवम मोटरसाइकल ¥याली देवदह पुगेर समापन भएको थियो ।कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रिय सदस्य चेतनारायण विश्वकर्मा विष्णुले महासंघले व्यवसायीको मागको सम्बन्धमा निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले महासंघले दिएको नियम पालना गर्दै कार्यक्रम निरन्तर गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि महासंघले लिएको नितीहरुमा यसै प्रकारले लाग्न आग्रह गर्नुभयो ।

रुपन्देही सुनचाँदी व्यवसायी संघका सल्लाहाकार प्रेम सेन्चुरीले लामो समय देखी व्यवसायी पसल बन्द गरेर सडक आन्दोलनमा रहेकोले सरकारले जनताको हितमा काम गर्न अग्रसर हुनुपर्ने बताउदै सरकारको यो निर्णयले व्यवसायीलाई मात्र होइन, उपभोक्तालाई समेत असर गर्ने बताउनुभयो। पूर्व केद्रिय सदस्य जोगलाल विश्वकर्माले सुनचाँदी व्यवसायीको पसल बन्द गरेर विरोध गरिरहेको बताउदै सरकारले यो माग नसुने अदालत सम्म पुग्ने बताउनुभयो।

सल्लाहकार एम वि विश्वकर्माले व्यवसायीमाथि आर्थिक भार थोपरेकोले सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने मुख्य माग रहेको बताउनुभयो ।संघका निवर्तमान अध्यक्ष रामकिसन विश्वकर्माले बजेटले गरेको विलासी करको व्यवस्था अव्यवहारिक भएकाले कर खारेज गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सल्लाहाकार विक्रम सुनार सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष हरि विश्वकर्मा, महासंघ सचिव सुजता गहतराज, उद्योग वाणिज्य संघ देवदह अध्यक्ष हरि प्रसाद भण्डारी,उद्योग संघ देवदहका व्यापार संघ अध्यक्ष कोष बहादुर गुरुग  तिलोत्तमा सुनचँदी व्यवसायी संघ अध्यक्ष कृष्ण रसाइली, देवदह अध्यक्ष इन्द्र सुनार,सिद्धार्थनगर अध्यक्ष राजन रसाइली लगायतले बोल्दै बजेटमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर तत्काल खारेज गर्न र सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नुभयो।

कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजना र शिद्धार्थनगर, तिलोत्तमा, देवदह, सुदोधन, सैनामैना, कञ्चन, लुम्बिनी सांस्कृतिक सुनचाँदी व्यवसायी संघको सहआयोजनामा भएको हो । रुपन्देही सुनचँदी व्यवसायी संघ अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रम ,संघ उपाध्यक्ष मनोज सेन्चुरीको स्वगत र महासचिव दिपक कौशलको सञ्चालनमा सम्पन्न भएको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत् सुनलाई विलासिताको वस्तुकोरुपमा कर लगाएपछि व्यवसायीहरूले करसम्बन्धी त्यस्ता व्यवस्थाहरू खारेज गर्नुपर्ने माग गरेका छन्।  सुनचाँदी कारोबारको लागि प्रष्ट नीति र नियमावली निर्माण गर्नुपर्नेलगायत व्यवसायीको माग छ।
 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update