सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटलसँग ग¥यो सम्झौता

काठमाडौं,साउन ७  
नेपालको केबल तथा तार उत्पादनमा अग्रणी कम्पनी सारथी केवल इन्डष्ट्रीज लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सारथी केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत  सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । 

सम्झौता समारोह काठमाडौंस्थित होटल स्टेरियटमा सम्पन्न भएको थियो । कम्पनीले आर्थिक वर्ष २०८२र८३ मा आफ्ना जारी पूँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक गर्ने योजना सार्वजनिक गरेको छ । यस  IPO  मार्फत संकलित रकम कम्पनीले अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्ने र  Aluminium Furnance Plant  स्थापना गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका अध्यक्ष भुसालले भन्नुभयो , “यो सम्झौता नेपालको विद्युत पूर्वाधारलाई आधुनिकीकरणतर्फ डोहोर्याउने हाम्रो अभियानमा महत्वपूर्ण उपलब्धि हो । हामी राष्ट्रिय आवश्यकतालाई ध्यानमा राख्दै आन्तरिक उत्पादनमा आधारित सशक्त प्रणाली विकास गर्दैछौं ।”

त्यसैगरी, सिटिजन्स क्यापिटलका प्रमुख श्रेष्ठले भन्नुभयो, “सारथी केवलसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो । यो आईपीओले लगानीकर्तालाई सुगम अवसर प्रदान गर्नेछ । साथमा, देशको केवल उत्पादन क्षमतामा समेत उल्लेखनीय योगदान पुर्याउनेछ ।”

नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको पृष्ठभूमिमा सारथी केवलको भूमिका अझै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । कम्पनीले Cable, Power Cable, Concentric Cable र ACSR Conductor जस्ता केबल उत्पादनमा विशेषज्ञता राखेको छ । १८ वर्षदेखिको अनुभव बोकेको यस कम्पनीले भविष्यमा नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update