बुटवल,माघ २२
आफ्नो वार्षिक कार्यतालिका अन्तरगत रुपन्देही व्यापार संघले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्ने व्यवसायी सदस्यहरुलाई गोलबन्द गर्ने लक्ष्य अनुसार वस्तुगत भेलालाई तिब्रता दिएको छ । यसैक्रममा बुधबार संघमा आबद्ध सूचना प्रविधि व्यवसायीहरुको भेला सम्पन्न भएको छ ।
संघको सचिवालयमा सम्पन्न उक्त भेलाले वासुदेव शर्माको संयोजकत्वमा सूचना प्रविधि वस्तुगत उपसमिति गठन गरेको छ । उपसमितिको सचिवमा ईपल भण्डारी, कोषाध्यक्षमा संजोक ज्ञवाली, सदस्यमा निर्मल पाण्डे, विवेक न्यौपाने र सल्लाहकारमा रितेश ज्ञवाली, विष्णुप्रसाद गौतम रहनुभएको छ ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको मेरुदण्डको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गर्नु भयो । उहाले व्यवसायीहरुको समस्याहरुको बारेमा उपसमितिले पहिचान गर्न पहल गर्ने र त्यसको समाधान गरेर व्यवसाय विस्तारमा सहयोगि बन्न आग्रह गर्नु भयो । उहाँले व्यवसायीहरुको समस्यामा संघले सधै आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै उपभोक्ताहरुको मन जितेर व्यवसाय प्रवद्र्धनमा लाग्न सकेमा मात्र सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा नवनिर्वाचित संयोजक वासुदेव शर्माले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु, सूचना प्रविधि व्यवसायीहरु एकुजट भई व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
भेलामा संघका महासचिव प्रकाशराज पौडेल, सचिव जयलाल न्यौपाने, कार्यसमिति सदस्य केदारनाथ नेपाल, प्रेमनाथ पाण्डे, सल्लाहकार मुकुन्द ज्ञवाली, पूर्व कार्यसमिति सदस्य रितेश ज्ञवालीलगायतले व्यवसायमा विभिन्न कारणले समस्याहरु बढ्दै गएको जिकिर गर्दै व्यवसायीहरुले आफ्ना समस्याहरु वस्तुगत उपसमितिमार्फत संघमा ल्याउन सुझाव दिनु भयो । कार्यक्रम कार्यसमिति सदस्य विनित भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

