
बुटवल,असार ३०
मानवअधिकार एलाइन्स नेपालको २६ औं स्थापना दिवसको अवसरमा ‘मानवअधिकार तथा सामाजिक न्याय विषयक् प्रशिक्षणमूलक अन्तक्र्रिया’ कार्यक्रम नवलपरासी जिल्ला सदरमुकाम परासी बजारमा आइतवार सम्पन्न भयो ।कार्यक्रमका प्रमुख अतिथि मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य एवम् नवलपरासी र पाल्पाका इन्चार्ज अनन्तराज सिलवालले नेपालमा मानवअधिकारको स्थितिलाई कमजोर हुन नदिन एलाइन्सले हरदम प्रयास गर्दै आइरहेको र सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा अभियान जारी रहेको उल्लेख गर्नुभयो ।
उहाँले जतिबेलासम्म नेपालीहरुले पूर्णरुपमा मानवअधिकारको प्रत्याभूति गर्न पाउँदैनन् त्यतिबेलासम्म देशको कुनैपनि क्षेत्र सुरक्षित र विकसित हुन नसक्ने बताउनुभयो । मानवअधिकारको समुचित प्रयोगले नै राष्ट्रनिर्माणमा सहयोग पुग्ने बताउदै सिलवालले मानवअधिकारको दुरुपयोग र अति स्वच्छन्दताले समेत समाजमा विकृति र विसंगति भित्रिने औल्याउनुभयो ।सामाजिक न्यायका लागि मानवअधिकार अपरिहार्य रहेको उहाँको भनाई थियो ।
अन्तक्र्रियात्मक कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी,सचिव धीरेन्द्र शर्माको विशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा एलाइन्सका जिल्ला र पालिका कमिटीका सदस्यहरुको सार्थक सहभागिता रहेको थियो । एलाइन्सका जिल्ला अध्यक्ष तिलक पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन एलाइन्सका सचिव हीरामाया थापाले गर्नुभएको थियो ।