उद्यानहरूको संरक्षण, सम्वर्द्धन र नीति निर्माणका लागि नेपाल उद्यान महासंघ

बुटवल, असार ३० 
नेपाल उद्यान महासंघ औपचारिक रुपमा दर्ता भएको छ । ‘एक टोल एक उद्यान’को भावनासहित देशभरका पार्क, बगैंचा, फूलबारी, ताल–तलैया र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूलाई संरक्षण, सम्बद्र्धन र समुन्नत विकास गर्दै लैजाने उद्देश्यले स्थापना गरिएको महासंघले आफ्नो औपचारिक घोषणा गरेको हो । बुटवलको होटल न्यू इरामा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रम मार्फत महासंघका उदेश्यका बारेमा पनि जानकारी गराईएको हो । 

२०७८ सालदेखि अवधारणा निर्माण हुँदै आएको महासंघले २०८० जेठ ६–७ गते बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय उद्यान सम्मेलनको निर्णय अनुसार २०८२ असार २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भई औपचारिक रुपमा स्थापना भएको हो ।कार्यक्रममा नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुइँटेलले विषय प्रवेश गराउँदै महासंघको स्थापना उद्देश्य, कार्यदिशा र भावी योजनाबारे जानकारी गराउनुभयो । उहाँले उद्यानहरूलाई समकालीन आवश्यकतासँग जोड्दै नीति निर्माणदेखि व्यवहारिक कार्यान्वयनसम्मको सशक्त संरचना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थीले संस्थाको स्थायित्व र उद्देश्यमा अडिग रही देशभरका उद्यानहरूलाई समेट्दै अघि बढ्न सुझाव दिनुभयो ।उहाँले भन्नुभयो,“संस्था जन्माउन सजिलो हुन्छ, तर निरन्तर सञ्चालन गर्नु गाह्रो हुन्छ। आशा छ, नेपाल उद्यान महासंघले देशभरका उद्यानहरुलाई एक सूत्रमा बाँध्न सफल हुनेछ। लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले जलवायु परिवर्तनको सन्दर्भमा उद्यानहरूको महत्व झनै बढेको उल्लेख गर्दै तीन तहका सरकारसँग समन्वय गरी नीति, कार्यक्रम र कार्यान्वयनमा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शंकरनगर वन बिहारका अध्यक्ष खिमलाल पाण्डेय, हिलपार्क परिषद अध्यक्ष टंक पराजुली, होटल व्यवसायी संघ रुपन्देही अध्यक्ष माधव खनाल, वरिष्ठ पत्रकार डा। बालकृष्ण चापागाईं, महासंघका सल्लाहकार डी.आर.घिमिरे, बिमला श्रेष्ठ, रमेश नेपाल, बलबहादुर आचार्य ,पत्रकार सुदिप भण्डारीलगायतले विचार राख्दै उद्यानहरूलाई कला, संस्कृति, शिक्षा, पर्यावरण र पर्यटनसँग जोड्दै पहिचानयुक्त विकास गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले स्थानीय सामुदायिक सहभागिता, नीति सहजीकरण र दिगो वित्तीय मोडलका पक्षमा जोड दिएका थिए । महासंघका महासचिव बेलप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रममा महासंघका उद्देश्यहरूलाई विस्तृतरूपमा प्रस्तुत गरिएको थियो ।

ती उद्देश्यहरूमा देशभरका उद्यानहरूबीच सञ्जाल विस्तार, नीतिगत पैरवी, विभिन्न प्रकारका उद्यानहरूको वर्गीकरण र सम्वद्र्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सूचना प्रकाशन, अनुसन्धान तथा तालिम सञ्चालन, उद्यानहरूको कानुनी व्यवस्थापन सहयोगजस्ता विषय समेटिएका छन् ।विशेषगरी, सार्वजनिक तथा सरकारी जग्गा, नदी किनार, मठ–मन्दिर क्षेत्र, सीमसार र जैविक विविधता भएका क्षेत्रलाई संरक्षण र सौन्दर्यकरण गर्दै पर्यटनको माध्यमबाट रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्य महासंघले लिएको छ ।

उद्यानहरूको संरक्षण, सम्वद्र्धन, व्यवस्थापन र नीति निर्माणका लागि नेपाल उद्यान महासंघको औपचारिक स्थापना र अन्तरक्रिया कार्यक्रमले अब संस्थागत मार्गचित्र तय गर्न थालेको छ । यो महासंघले नीतिगत पक्षमा प्रभावकारी भूमिका खेल्दै देशभरका प्राकृतिक, सांस्कृतिक तथा सामाजिक उद्यानहरूको विकासमा महत्त्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ ।जलवायु परिवर्तन, सहरीकरण र जीवनशैलीमा आएको परिवर्तनका सन्दर्भमा उद्यानहरू केवल मनोरञ्जनका साधन नभई स्वस्थ वातावरण, सौन्दर्य, पर्यटन र जैविक विविधताको संरक्षणका प्रमुख आधारशिला हुन् भन्ने सन्देश कार्यक्रमले दिएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update