
बुटवल ,असार ३०
बुटवल उपमहानगर पालिकाले सेवा प्रवाहका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न गरेको छ । सार्वजनिक सुनाइ कार्यक्रममा बोल्दै सेवाग्राहीहरुले बुटवलमा धेरै सम्भावना भएको भए पनि अझै पनि शिक्षा , स्वास्थ्य खानेपानी ,सरसफाइ आदिका हिसाबले थुप्रै समस्या भएको बताएका छन । शुद्ध खानेपानी खान नपाएको , फोहोरमैलाको उचित व्यवस्थापन नभएको,लागूपदार्थ दुव्र्यसनी समाज अशान्त भएको र युवाहरू दुव्र्यसनीमा फस्ने गरेको त्यस्तै खोला खोल्सी नाला हरुको उचित व्यवस्थापन हुन नसकेको गुनासो सेवाग्राहीहरुले व्यक्त गर्नु भएको थियो ।
शिक्षामा केही सामुदायिक विद्यालयहरुले मात्र उत्कृष्ट नतिजा ल्याउन सफल भएको र अन्य विद्यालयहरुलाई कसरी अगाडि ल्याउन सकिन्छ भन्ने विषयमा योजना बनाउनुपर्ने , अझै पनि खानेपानीको समस्या भएको र ट्यांकरमा पानी ओसार्नु पर्ने बाध्यताको अन्त्य हुनुपर्ने , खोला किनारमा व्यवस्थापन गरिएको फोहर जन्य पदार्थको लागि दिर्घकालिन उपाय खोजिनुपर्ने , लागु पदार्थमा युवा पुस्ताहरु भुलेकाले कहाँबाट समस्या आएको छ त्यसको निचोड निकाल्ने गरी समस्या समाधानतर्फ लाग्नुपर्ने लगायतका सुझावहरु दिएका छन् ।
त्यस्तै सेवाग्राहीहरुले नगरपालिकामा छिटो छरितो रुपबाट अझै पनि सेवा लिन नसकेको गुनासो गरेका छन् ।कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले बुटवललाई समृद्ध बुटवल र बस्नयोग्य बुटवल बनाउनका लागि आफूहरुले योजनाका साथ काम अघि बढाएको दाबी गर्नभयो । समानता, स्वाभिमान र अवसर बस्नयोग्य बुटवल शहर भन्ने नाराका साथ आफुहरुले सक्दो प्रयास गरेर नीति तथा योजना र त्यही अनुसारको बजेट ल्याएको उहाँको दाबी थियो ।
त्यस्तै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगर पालिकाले कार्तिक महिनादेखि नै कार्यक्रमहरू लागू गर्ने तर असारमा आएर कार्यक्रम गर्ने र योजना ल्याउने प्रवृत्तिको अन्त्य गर्ने गरी आफुहरुले काम अगाडी बढाउने बताउनुभयो । शिक्षा स्वास्थ्यलाई बुटवलको हब बनाउने तरिकाबाट आफुहरुले पहल गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
सार्वजनिक सुनाइ कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु सुरक्षा क्षेत्रका प्रतिनिधि वडा अध्यक्ष, जनप्रतिनिधि टोल विकास समितिका अध्यक्ष , युवा क्लव , सर्वसाधारण नागरिकहरुको तथा नगरपालिकाका शाखा प्रमुखहरु पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सार्वजनिक सुनाईका लागि तयार पारिएको प्रतिवेदन रिपोर्टर्स क्लब अफ लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार पूजा पन्थीले गर्नुभएको थियो ।