बुटवल, फागुन २४
एक सय १६ ओैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तिनाउ गाउँपालिकामा गठित महिला समन्वय समितिले महिला सशक्तिकरणका लागि क्षमता अभिवृद्धि तालिम आईतवार दोभानमा सम्पन्न गरेको छ । तालिम समापन कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि प्रेम श्रेष्ठले तिनाउ गाउँपालिकाले “महिला पहिला“ बनाउने अभियानलाई जोड दिएको बताउनुभयो ।
त्यसका लागि महिला सशक्तिकरण र आयमुखी कार्यक्रम सञ्चालनका लागि अध्यक्षसँग ईलम कार्यक्रम रहेको बताउनुभयो । तिनाउ गाउँपालिकाले कृषि,पर्यटन,पशुपालन र उद्यमशीलतामा जोड दिदै अघि बढेको उहाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उनले महिलाहरुलाई नेतृत्वका निम्ति तयार रहन समेत सुझाउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमामात्र अधिकारका कुरा नगरी समावेशी तरिकाले सदैव अघि बढ्नु पर्नेमा जोड दिनुभयो । महिलाहरुलाई सशक्तिकरण गर्दै उद्यमशीलतामा जोड दिनुपर्ने उहाको तर्क थियो । पालिकाले उद्यमी महिला निर्माण गर्दै स्वरोजगारमा जोड दिएको बताए । सीपलाई श्रमसँग जोड्नुपर्ने उहाले बताउनुभयो ।
तालिमको सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङले गरेका थिए । उहाले अन्तर्राष्ट्रिय श्रमिक महिला र नेपाली महिलाको अवस्था,लैङ्गिक समता,महिला उद्यमशीलता र महिला सशक्तिकरण विषयमा सहजीकरण गर्नुभएको छ । तालिममा तिनाउ गाउँपालिकाभित्र रहेका ६ वटै वडाका ३० वटा महिला समूहहरुको सार्थक सहभागीता रहेको थियो ।
तालिममा सहभागीका तर्फबाट दुर्गा भण्डारी,गोपिका पौडेल,बस्याल र पम्पा मगरले तालिम प्रभावकारी रहेको र निरन्तर सञ्चालन हुँदा महिलाहरु सक्षम र सबल हुने उनीहरुको भनाई थियो ।

