
बुटवल,साउन ११
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीका उद्योगी–व्यवसायीहरुसँग शनिबार ४ घण्टा लामो अन्तरसंवाद गरेका छन् । नेकपा एमाले रुपन्देही अन्तरगत उद्योग वाणीज्य तथा आपूर्ति विभागले आयोजना गरेको अन्तरसंवदमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रका प्रतिनिधिहरुले उठाएका विभिन्न विषयहरु जबाफ दिनुका साथै सुझाब संकलन गर्नुभएको छ ।
सरकारले ल्याएको बजेट, मौद्रिक नीति तथा विभिन्न आर्थिक विषयका व्यवहारिक र नीतिगत समस्याका बारेमा यहाँका निजी व्यवसायी तथा उद्योगीहरुले सुझाब राखेका थिए । सो अवसरमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले मुलुकको आर्थिकस्तर सुधारका लागि सरकारले प्रतिवद्ध भएर काम गरिरहेको जानकारी गराउनुभयो ।यसैबीच रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरेको बताउँदै यसलाई पूर्ण सञ्चालनमा ल्याएरै छाड्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
रुपन्देहीमा रहेको नेपाल–भारत खुला सीमाना र अवैध कारोबार रोक्नका लागि चुनौतिपूर्ण अवस्था रहेको बताउँदै अर्थमन्त्री पौडेलले निजी व्यवसायीहरुलेनै सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । अन्तरसंवादमा अर्थमन्त्री पौडेलले बुटवल–नारायणगढ सडक, बुटवल–गोरुसिंगे सडक, बुटवल राजमार्ग चौराह–गोलपार्क सडक, मोतीपुर औद्योगिक कोरिडोर, तिनाउ दानव कोरिडोर, सेमलारमा बन्ने भनिएको अत्याधुनिक कृषि उपजर थोक बजार केन्द्र, बुटवलमा स्थापना भएको अन्तर्राष्ट्रि सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्रको सञ्चालन, लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण तथा सञ्चालन, भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन लगायतका विषयमा उठेका चासो र चिन्ता बारे चर्चा गर्नुभएको थियो ।
रुपन्देहीका विभिन्न निजी क्षेत्रका ३ सय बढी प्रतिनिधिहरु सहभागी कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री पौडेलले प्राप्त सुझाबहरुलाई समेत अध्ययन गरेर कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो । साँझ साढे पाँचबजदेखि सुरु भएको कार्यक्रम राती १० बजेसम्म सञ्चालन भएको थियो ।