पत्रकार महासंघ रुपन्देहीको नलेज सिरिज : प्रविधिलाई आत्मसाथ गर्न चापागाईंको सुझाव 

बुटवल,साउन २० 
नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष मोहन चापागाईँले प्रविधिलाई युवा जमातले आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । 
नेपाल पत्रकार महासंघ रुपन्देहीले सञ्चालन गरेको नलेज सिरिज कार्यक्रममा बोल्दै उहाँले अहिले पत्रकारितामा प्रविधिको प्रयोग बढिरहेको बताउँदै पत्रकारले प्रविधिको प्रयोग संगै जवाफदेहिताको पत्रकारिता गर्नुपर्ने  उल्लेख गर्नुभयो ।

उहाँले आफूहरूले पत्रकारिताको दौरानमा दिनभर मेहनत गरेर समाचार लेखेर अर्को दिन मात्रै कस्तो छापियो भने हेर्नुपर्ने बाध्यता रहेपनी अहिले प्रविधिले स्थलगत प्रत्यक्ष प्रसारण गर्ने अवस्था समेत बनिरहेको बताउनुभयो ।  उहाँले अहिले पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई केही हिन्ट वा प्रम्ट दिएर समाचार बन्ने अवस्था आइरहेकोले पत्रकारितामा लागिरहेका युवाहरूले ध्यान दिएर मेहनत गरेर उत्कृष्टता दिनुपर्ने आवश्यकता औल्याउनुभयो । खोज तथा अनुसन्धान गरेर समाचार तयार अन्य माध्यमबाट नहुने भएकोले खोजी गर्दै मेहनतपूर्ण पत्रकारिता गरेमा पत्रकारिता गरेर बाच्न सकिने उल्लेख गर्नुभयो । 

सामुदायिक रेडियो प्रसारक संघका पुर्व अध्यक्ष समेत रहनुभएका चापागाईले रेडियो जस्तो सजिलो भरपर्दो संचारमाध्यमको विकल्प अरु नभएको बताउनुभयो । परिवेश र श्रोता अनुसार सबै संचारमाध्यमको आफ्नै महत्व रहेको उहाँको भनाई थियो । विकसित राष्ट्रहरुमा समेत रेडियोहरुको महतव नघटेको बताउदै समय अनुसारका काम गर्दे सुन्न सकिने संचारमाध्यमलाई परिस्कृत गर्दै लैजानुपर्ने बिचार व्यक्त गर्नुभयो । 

तीन दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिएका उहाँले अहिलेको पत्रकारितालाई भन्दा सामाजिक सञ्जाललाई विश्वास गर्ने जनता भएकोले सचेत भएर पत्रकारिता गर्दै त्रुटिपूर्ण हुन नदिई काम गर्न सुझाव दिनुभयो सो अवसरमा आफूले पत्रकारिता क्षेत्रमा प्रवेश गरेसंगैका कामहरू सुनाउँदै २०५२ सालमा दैनिक लुम्बिनीमा ३४०० रुपैयाँ तलबबाट पत्रकारितामा लागेको उल्लेख गर्नुभएको थियो। 

नेपाल पत्रकार महासंघ रुपन्देहीले सञ्चालन गरेको नलेज सिरिज अन्तरगत पत्रकार महासंघका पूर्व अध्यक्षहरुसंग छलफल गर्दै आएको छ। यो कार्यक्रम पत्रकारिताको क्षेत्रमा लागेका नयाँ पुस्तार आम नागरिलाई पनि प्रेरणदायि हुने अपेक्षा गरिएको छ ।  नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष विश्वास ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव झविन्द्र देवकोटाले गर्नुभएको थियो भने सहजीकरण कार्यसमिति सदस्य भुवन जिसीले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update