रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस्  : अध्यक्ष प्रचण्ड 

बुटवल, भदौ १४ 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताउनुभएको छ । पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेताकार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले भन्नुभयो -“पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस एमालेका नेताहरुले मलाई भेट्दा यो परिर्वतन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ ।मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु । त्यसैले कमरेडहरु माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भुमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचार प्रसार त हामीले गर्नुपर्यो नि, रुपन्देहीमा हामीले पहिला भन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो,  तपाईहरु त्यसको तयारी गर्नुहोस् ।”

अध्यक्ष प्रचण्डले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्व इतिहासले आफूलाई सुम्पिएको उल्लेख गर्दै जनयुद्ध र परिर्वतनका आन्दोलनका अभिलेख व्यवस्थित गर्न माओवादी केन्द्रले अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । प्रचण्डले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट डराएका “प्रतिक्रियावादी र बिचौलिया” समूहहरु माओवादी आन्दोलनविद्ध जोसुकै लागेको भएपनि विज्ञान र वर्गसंर्घषको नियमअनुसार माओवादी आन्दोलन अझ अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी आन्दोलनबारे समिक्षा, संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र पार्टीको भविष्यका योजनाहरु राख्नुभएको छ । बैठकमा प्रचण्डले समसामयिक राजनीति, पार्टीको आन्तरिक अवस्था र आगामी रणनीतिबारे धारणा राख्नुभएको छ ।परिवर्तनको जग माओवादीले राखेको र त्यसको रक्षा गर्ने शक्ति पनि माओवादी नै भएको उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update