
बुटवल,भदौ १५
आगामी कात्तिक १७ गते हुने रुपन्देही– ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा. लेखजंग थापा उम्मेदवार बन्ने पक्का भएको छ । पार्टी सचिवालयको निर्णयअनुसार ९ जना आकांक्षीमध्ये थापा चयन हुनुभएको हो ।
उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी– ६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७ रुपन्देही) आकाङ्क्षी रहेका थिए ।
उनीहरुमध्ये थापा रास्वपाको प्राइमरी इलेक्सनबाट निर्वाचित हुनुभएको हो । आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन भोटिङमार्फत प्राइमरी इलेक्सन गरेको थियो। सो मतदानमा सबैभन्दा बढी मत प्राप्त गर्ने डा. थापा उम्मेदवारका रूपमा घोषित हुनुभएको हो । डा. थापा एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी र न्युरोलोजीमा एमडी गरेका वरिष्ठ न्युरोलोजिस्ट हुनुहुन्छ ।
हाल उहाँ महाराजगञ्जस्थित नेसनल न्युरो सेन्टरमा न्युरोलोजी विभागका प्रमुखका रूपमा कार्यरत छन्। साथै, उहाँ नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।