बुटवल,असोज ६
तपाईलाइ के लाग्छ ? मान्छे धन, सम्पत्ति, देखावटी हासोबाट मात्रै सुखी हुन्छ ?आज मानिस सबैकुराले भरिपुर्ण भएपनि मनमा शान्ती छैन भने आत्म सन्तुष्टी हुन सक्दैन । मानिसको मन जब शान्त हुन्छ, सकारात्मक र सबैको हितमा काम गर्छ, अनि शान्ती मिल्छ । समग्रमा मानिस,परिवार,समाज राष्ट्रमा शान्ती कायम गर्न बिभिन्न विश्व शान्ती दिवस मनाउन शुरु गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । शान्ती दिवसका अवसरमा बुटवलमा पनि बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । बुटवलमा सक्रिय इनरह्वील क्लव अफ बुटवल , इनरह्वील क्लव अफ जितगढी, इनरह्वील क्लव अफ मिडटाउन बुटवल र इनरह्वील क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा बुटवलको ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालयमा कार्यक्रम भएको हो।
ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय नेपालकी वरिष्ठ उपाध्यक्ष तथा क्षेत्रीय कार्यालय बुटवलकी अध्यक्ष राजयोगिनी ब्रहमकुमारी कमला दिदीले परिवर्तन आफैँबाट गर्न जरुरी भएको बताउनुभयो । आफू परिवर्तन भएमा समाज र राष्ट्र परिवर्तन हुँदै विश्व परिवर्तन गर्न सकिने बताउँदै यहीँ परिवर्तनको माध्यमबाट विश्वमा शान्ति स्थापना हुनेमा जोड दिनुभयो ।
विश्व विद्यालयका केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव राजयोगी नरेन्द्र दाजुले मानिस शान्त र खुसी रहन सके अन्तर आत्माको शान्तिसँगै बाह्यरुपमै शान्ति कायम हुने बताउनुभयो । डिष्ट्रिक ३५० का आइपिडिसी आशा श्रेष्ठले अहिलेको समयमा भौतिक सुख सुविधासँगै अन्तरआत्मको शान्ति जरुरी भएको बताउनुभयो ।ब्रह्मकुमारी पूर्णिमा दिदीले स्वयं परिवर्तन भए समाजसँगै संसार अर्थात विश्व परिवर्तन हुने , स्वयं शान्त भए समाज हुँदै विश्व शान्त हुने बताउनुभयो ।
इनरह्वील क्लव अफ बुटवलका अध्यक्ष बुलबुल श्रेष्ठले सकारात्मक सोचका साथ अगाडि बढेमा जीवन सफल र सुखी हुने बताउनुभयो । कार्यक्रममा इनरह्वील क्लव अफ जितगढीकी यशोदा भट्टराई , इनरह्वील क्लव अफ मिड टाउन बुटवलकी जुनु भण्डारी अर्याल , इनरह्वील क्लव अफ तिलोत्तमाकी पूर्व अध्यक्ष सीता चालिसे लगायतको उपस्थिति रहेको थियो । क्लवका सचिव गंगा श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रमको संयोजन पूर्व अध्यक्ष शान्ता शाक्यले गर्नुभएको थियो ।



