बडादशैंको पाँचौ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

बुटवल, असोज, १० 
आज बडादशैंको पाँचौं दिन देवी दुर्गाका बिभिन्न स्वरुपमध्ये स्कन्दमाताको पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वणर्न गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ ।नवरात्रको पहिलो दिन असोज २८ गते दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । त्यही दिनदेखि दशैं शुरु भएको मान्न्छि । जसलाई नवरात्र शुरु भएको पनि भन्ने गरिएको छ । नवरात्र भनेको घटस्थापनादेखिको नौ दिन अर्थात बिजया दशमीको अघिल्लो दिनसम्म हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती  चण्डी श्रीमद देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

बडादशैं शुरु भएको पहिलो दिन अर्थात घटस्थापनाको दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने भनिन्छ । आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update