सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एमाले प्रतिबद्ध  छ :  पौडेल 

बुटवल,कार्तिक १९
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका हत्या र अराजकताका घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ  ।उहाँले अन्तरिम सरकारले उक्त घटनाका दोषीहरूलाई पहिचान गरी निष्पक्ष छानबिन गर्न नसकेको आरोप लगाउनुभयो । पौडेलले जबसम्म आन्दोलनका क्रममा हत्या, तोडफोड र राष्ट्रिय सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कानुनको कठघरामा उभ्याउन सकिँदैन, तबसम्म नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्न सक्दैनन् भन्नुभयो । 

प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै पौडेलले वर्तमान सरकार नागरिकलाई शान्ति र सुरक्षाको अनुभूति दिलाउन असफल भएको टिप्पणी गनुभयो । पौडेलले अहिलेको राजनीतिक समस्याको दीर्घकालीन समाधान संसद् पुनः स्थापना र संविधान संशोधनमार्फत ताजा जनादेशमा जानु नै भएको बताउनुभयो । देशलाई संवैधानिक मार्गबाट अगाडि बढाउन प्रतिनिधि सभा पुनः स्थापना अनिवार्य रहेको पौडेलको भनाई छ । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एमाले दृढ प्रतिबद्ध रहेको भन्दै पौडेलले एमालेले जनताको जनादेशको आधारमा राष्ट्रिय सेवा गर्न चाहेको बताउनुभयो ।पौडेलले एमाले निर्वाचनमा जान तयार रहेको स्पष्ट पार्नुभयो ।  निर्वाचनका लागि  सरकारले सुरक्षा व्यवस्थापनदेखि प्राविधिक तयारीसम्म आवश्यक गृहकार्य गर्न नसकेको बताउनुभयो ।  

एमालेको आउँदो ११औँ महाधिवेशन सम्बन्धमा उनले पार्टी सर्वसम्मत नेतृत्व चयनको दिशामा अग्रसर रहेको बताउनुभयो। महाधिवेशनले सहमतिको वातावरणमा नेतृत्व चयन गर्ने पौडेलको भनाइ थियो । पूर्व राष्ट्रपति विद्या देवी भण्डारीको सदस्यता नवीकरणबारे प्रश्न उठाउँदा उहाँले यो विषयमा सबै जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै दिएको बताउनुभयो । उपाध्यक्ष पौडेलले एमाले सधैँ सिद्धान्त, सङ्गठन र राष्ट्रिय हितका आधारमा अघि बढ्ने दल भएको पौडेलले बताउनुभयो ।  

उपाध्यक्ष पौडेलले सरकारको असफलता, शान्ति–सुरक्षाको अवस्था, जेनजी आन्दोलनको छानबिन, र राजनीतिक स्थायित्वका लागि संसद् पुनः स्थापनाको आवश्यकता लगायत विषयमा धारणा राख्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवैधानिक बाटोमा अघि बढ्नुपर्नेमा विषयमा जोड दिनुभएको छ । प्रेस चौतारी नेपाल रुपन्देही अध्यक्ष भगवती पाण्डेको अध्यक्षता,सचिव बिण्णु घिमिरेको सञ्चालन र उपाध्यक्ष केशव भण्डारीको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रमका प्रदेश, जिल्ला ,नगरकमिटीका नेताहरुको साथै पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update