एमाले केन्द्रीय सदस्यमा युवा नेता रानाको उम्मेदवारी 

बुटवल,पुस १ 
काठमाडौंमा जारी नेकपा एमालेको ११ औँ महाधिवेशनमा आज मतदान हुदैछ ।  रुपन्देहीका युवा नेता गोपाल रानाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवी दर्ता गराउनुभएको छ  । उहाँले भूगोलतर्फ लुम्बिनी प्रदेशबाट खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

राजनीतिक स्थायित्व र समृद्ध मुलुकका लागि नेकपा एमालेलाई बलियो बनाउनु पर्ने र त्यसका लागि असल नेतृत्व खाँचो रहेको बताउँदै उहाँले केन्द्रीय सदस्यको उम्मेदवारी दिएको दाबी गगर्नुभयो । उहाँले एमाले राजनीतिमा लागेकै कारण भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो आर्थिक क्षति समेत व्यहोर्नु परेको थियो । रुपन्देहीको सफल पर्यटन व्यवसायीको रुपमा परिचित रानाले सञ्चालन गर्दै आएको ड्रिम इन्टरनेश्नल होटल र ड्रिमल्याण्ड होटलमा तोडफोड तथा आगजनिले करोडौंको क्षति व्यहोर्नु पर्यो । यद्यपि जेनजी र युवा पुस्ताका जायज मागहरुलाई अबको राजनीतिक नेतृत्वले पूरा गर्नुपर्ने उहाँको बिचार छ । जेनजी आन्दोलन र उनीहरुको माग सही भएपनि त्यसभित्र भएका घुसपैठले मुलुकभर ठूलो आर्थिक विध्वंस र क्षति हुन पुगेको उहाँको बुझाई छ । 

हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरको ईन्चार्ज रहनुभएका रानाले राजनीतिक स्थायित्वबाटनै युवाहरुको माग सम्बोधन गर्न सम्भव भएको बताउँनुहुन्छ। राजनीति नै समाज रुपान्तरणको माध्यम भएको उहाले उल्लेख गर्नुभयो । 

किशोर अवस्थादेखि नै आफ्नो बलबुद्धि समृद्धि र राजनीतिमा लगाउनुभएका गोपालले पार्टीलाई दिने योगदान २०४३ सालदेखि अहिलेसम्म निरन्तर जारी छ । पार्टीमा निरन्तर लागेका उहाँले राजनीतिलाई नै समाज रुपान्तरणको माध्यम बनाउन चाहनुहुन्छ  । जोशीला युवालाई एमालेमा आकर्षण दिन कुनै बेला एमालेलाई गोपाल नै चाहिन्थ्यो । गोपालले संगठित गरेका युवा अहिले पनि एमाले नेताहरुको रक्षाकवच बनिरहनुभएको छ । 

सामान्य नजरबाट हेर्दा गोपाल राना रुपन्देहीका होटल व्यवसायी मात्रै देखिनुहुन्छ  तर गहिरो अध्ययन गर्ने हो भने गोपाल राना बहुआयामिक व्यक्तित्व बनिसम्नुभएको छ  । पर्यटनलाई मुख्य एजेण्डा बनाएर अगाडि बढेपनि उहाँ समाजमा दयालु, राजनीतिमा निख्खर र साथीभाईमा प्रिय मान्छे बन्न सफल बन्नुभएको छ ।  

रानाले बुटवलको कालिका माविबाट आफनो माध्यामिक तहको अध्ययन पूरा गर्नुभयो । बिसं २०४३ सालमा कालिकाबाट एसएलसी पासे गर्नुभएका रानाले थप अध्ययन बुटवलकै लुम्बिनी वाणिज्य क्याम्पसमा गर्नुभएको हो ।

२०४३ ताका बुटवलमा तत्कालिन पञ्चायती व्यवस्था समर्थक मण्डले समूह र प्रजातन्त्र र गणतन्त्रका पक्षधर विद्यार्थीहरुको निकै झडप हुने गर्दथ्यो । राष्ट्रवादी विद्यार्थी मण्डल नामको पञ्चायत समर्थक विद्यार्थीहरुको समूहले लोकतन्त्रको पक्षधरता लिने युवा विद्यार्थीहरुलाई खोजी खोजी आक्रमण गर्ने गर्दथे । बुटवल त्यसका लागि चर्चित शहर थियो । पञ्चायत कालमा लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययन गर्ने क्रममा मण्डलेहरुको अत्याचार र प्रहरीहरुको दबाबलाई चिर्ने क्रममा गोपाल पार्टी राजनीतिमा आकर्षित हुनुभयो । तत्कालिन समयमा विद्यार्थी राजनीति हुँदै २०४७ सालमा उहा प्रजातान्त्रिक युवा संघमा आवद्ध भएर अघि बढ्नुभयो । युवा संघको जिल्लामा रहेर काम गर्नुभयो । त्यहीँबाट उहाको राजनीतिक यात्रा सुरु भयो । 

तत्कालिन समयमा भएको २०४६ सालको जनआन्दोलनमा युवाको संयुक्त संजालको संयोजकको भुमिकामा रहेर उहाले योगदान दिनुभयो । यसैगरी २०६२÷६३ को जनआन्दोलनमा पनि आन्दोलनको मोर्चालाई नेतृत्व गर्नुभयो । विसं २०४७ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएका उहाँले धेरै भुमिकामा रहेर पार्टीमा योगदान दिनुभएको छ ।
त्यसो त गोपाल २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नै बुटवलको नगर प्रमुखको दावेदार हुनुहुन्थ्यो । तर, उहाले अन्तिममा टिकट नपाएपनि पार्टीका उम्मेदवारलाई बुटवलमा भारी मतले विजयी गराउन सफल हुनुभएको थियो । यसैगरी २०७९ सालको स्थानीय निर्वाचनमा समेत अन्तिम समयमा मेयर पदको उम्मेदवारको टिकट गुमाउनुभएको थियो  । रुपन्देहीमा हुने स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाका हरेक निर्वाचनमा पार्टीको मोर्चा सम्हाल्दै आउनुभएका राना हालसम्म कुनै पनि लाभको पदमा रहनुभएको छैन ।

यद्यपी, गोपाल राजनीतिसँगै समाज सेवामा समेत निरन्तर लागेका छन् र लाग्ने वाचा गर्नुभएको छ । उहाँले दुई दर्जन रुपन्देहीका शैक्षिक, धार्मिक, अपाङ संघसस्थाहरुमा अक्षयकोष स्थापना गरिदिनुका साथै आर्थिक सहयोग गर्नुभएको छ । तिलोत्तमास्थित अनाथ आश्रम, बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित प्रगती माविमा गोपाल रानाले अक्षयकोष स्थापना गर्नुभएको छ । देवीनगरस्थित अपाङ आश्रममा वर्षभरि नै सहयोग गर्दै आउनुभएको छ भने उजिरसिंह मावि, कालिका माविमा पनि रानाले नै अक्षयकोष स्थापनाको अगुवाई गर्नुभएको छ ।

आफूलाई सफल व्यवसायी, समाजसेवी हुँदै राजनीतिक नेतृत्वमा समेत अघि बढेर युवाहरुको मुद्दालाई अगाडि ल्याउन आफ्नो उम्मेदवारी रहेको उहाले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update