राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक

बुटवल,माघ १४ 

‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन–२०८२ का लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीका अध्यक्ष चित्रबहादुर केसीले ४० पृष्ठ लामो घोषणापत्र सार्वजनिक गर्नुभयो । २५ बुँदामा समेटिएको घोषणापत्रमा वर्तमान सरकारलाई अवैधानिक ठहर गर्दै संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याइएको छ । 

घोषणापत्रमा संघीय संरचनाले देशलाई झनै कमजोर बनाएको दाबी गर्दै संघीयता खारेज गरी एकीकृत राज्य संरचना अवलम्बन गर्नुपर्ने उल्लेख गरिएको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले वर्तमान सरकार विदेशी शक्तिहरूको प्रभावमा बनेको आरोप लगाउनुभयो । 

केसीले यस्तो अवस्था आउनुमा राजनीतिक दलहरूको कमजोरी पनि जिम्मेवार रहेको स्वीकार गर्नुभयो । विगतमा जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा आज मुलुक गम्भीर संकटमा पुगेको उहाको भनाइ छ । “नेपालको इतिहासमा यति ठूलो संकट अहिलेसम्म आएको थिएन,” उहाले भन्ुभयो, “आज राष्ट्रियता नै अप्ठ्यारो अवस्थामा पुगेको छ ।”

अध्यक्ष केसीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै अब राजनीतिक दलहरू जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो। नयाँ दलहरूप्रति टिप्पणी गर्दै उनले परिवर्तनको नाममा जनतालाई भ्रममा पार्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाउनुभयो ।“नयाँ जोगीले झन् धेरै खरानी घसेर आएका छन्,” उहाले भन्नुभयो “यदि यस्ता शक्तिहरूको हातमा मुलुक गयो भने संविधान मात्र होइन, राष्ट्र नै संकटमा पर्छ ।”

उहाले एनजीओ तथा आईएनजीओबाट लाभ लिइरहेका केही व्यक्तिहरू विदेशी शक्तिहरूको योजनाअनुसार नेपाली जनतालाई भ्रमित गरिरहेको आरोप पनि लगाउनुभयो । परिवर्तन र नयाँपनको नाममा कृत्रिम एजेन्डा अघि सारेर राष्ट्रमाथि आक्रमण भइरहेको भन्दै त्यसविरुद्ध राष्ट्रिय जनमोर्चा दृढतापूर्वक उभिने उहाले स्पष्ट पार्नुभयो । 
 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update