अनेमसंघ लुम्बिनी प्रदेश निर्वाचन परिचालन कमिटी घोषणा, संयोजकको जिम्मेवारी खनाललाई

 बुटवल, माघ १४ 
नेकपा एमालेले लुम्बिनी प्रदेशभर आफ्नो चुनावी अभियान सुरु गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा उम्मेद्वारी दर्ता गरेका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेपछि एमालेले आफ्नो चुनावी अभियान थालेको हो । यसै क्रममा नेकपा एमालेले प्रदेशभर निर्वाचनलाई व्यवस्थित रुपमा अगाडि बढाउन बिभिन्न तहमा निर्वाचन परिचालन कमिटी गठनलाई तिव्रता दिएको छ । मंगलबार बुटवल सुख्खानगरस्थित पार्टीको प्रदेश कार्यालय बसेको अनेमसंघ लुम्बिनी प्रदेश कमिटीको बिस्तारित बैठकले निर्वाचन परिचालन कमिटी गठनसंगै घोषणा गरेको हो ।  

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि अनेमसंघ लुम्बिनी प्रदेश कमिटी अध्यक्ष पम्फावती खनालको संयोजकत्वमा प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष र युवाकमिटी अध्यक्ष सदस्य रहनेगरि १ सय ९५ सदस्यीय कमिटी गठन गरिएको छ। त्यसैगरी प्रदेश कमिटी सचिव गिता पाण्डेको संयोजकत्वमा प्रदेश कमिटी, जिल्ला कमिटी बिभाग महिला युवा कमिटी रहनेगरि १ सय ५ सदस्यीय प्रचार प्रसार कमिटी गठन गरिएको छ ।त्यसैगरि अनुगमन कमिटीको जिम्मेवारी प्रदेश इन्चार्ज बिना ज्ञवालीलाई दिइएको छ । 

बैठकलाई सम्बोधन गर्दै अनेमसंघ केन्द्रिय उपाध्यक्ष मेनका पोखरेलले एमालेको स्पष्ट योजना र बिकास निर्माणलाई आधार मानेर मतदिने वातावरण बनाउनेगरि लाग्न आग्रह गर्नुभयो । अनेमसंघ इन्चार्ज बिना ज्ञवालीले आ – आफ्ना जिल्लामा एमालेका उम्मेद्वारको जित सुनिश्चित हुनेगरि जिम्मेवार भएर लाग्न अनेमसंघ सदस्यहरुलाई अनुरोध गर्नु भयो ।

निर्वाचन परिचालन समितिका संयोजक पम्फावती खनालले एमाले सधैँ जनताको साथमा रहेको पार्टी भएकाले जनतालाई यस पटक पनि एमालेको पक्षमा मत दिन आग्रह गर्नुभयो । अनेमसंघका बिभिन्न जिल्लाका अध्यक्ष, स्थायी कमिटी सदस्यहरुको सहभागिता रहेको बैठकको सञ्चालन सचिव गिता पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update