देश बचाउन नेकपा एमालेको सरकार आवश्यक : दधिराम न्यौपाने

तिलोत्तमा, माघ १४
देश र राष्ट्रियता बचाउनको लागि नेकपा एमालेको सरकार आवश्यक रहेको एमालेका केन्द्रीय सदस्य दधिराम न्यौपानेले बताउनुभएको छ  । उहाले देशको समृद्धि, शुसासन र अग्रगमनको लागि एमालेका उम्मेदवारलाई जिताउनु पर्नेमा जोडदिनुभयो । नेकपा एमाले देवदह नगरपालिका वडा नं. ५, ७, ८ र ९ को बिस्तारित भेलालाई सम्बोधन गर्दै न्यौपानेले उक्त कुरा बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट रुपन्देहीको क्षेत्र नम्वर १ को उम्मेदवार समेत रहनुभएका नेता न्योपानेले नेकपा एमालेको सरकारले मात्र सुकुम्बासी समस्या समाधान गर्ने बताउनुभयो ।

उहाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीको ५ वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित हासिल गर्ने दावी गर्नुभयो । उहाले गत भदौ २३ र २४ गते आन्दोलन नभई बिध्वंश भएको बताउँदै देशलाई विखण्डन गर्न देशी विदेशी शक्ति लागिरहेको बताउनुभयो । क्षेत्रीय ईन्चार्ज समेत रहनुभएका नेता न्यौपानेले उमेर समुहले मात्र परिवर्तन हुन नसक्ने बताउँदै त्यसको लागि विचार आवश्यक रहेको औल्याउनुभयो । उहाले नेकपा एमालेको उम्मेदवारलाई जिताउनको लागि पार्टीका कार्यकर्ताहरु एकतावद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

शाखा कमिटीको विस्तारित भेलाले निर्वाचन परिचालनसंगै विभिन्न जिम्मेवारी समेत बाडफाड गरिएको सो पार्टीले जानकारी दिएको छ । विस्तारित भेलाले निर्वाचन परिचालन, युवा परिचालन, विद्यार्थी परिचालन, महिला परिचालन, कार्यालय व्यवस्थापन, जनप्रतिनिधि समन्वयलगायतका विभिन्न उपसमिति गठन गरेको पार्टीका नगर सचिव गणेश डुम्रेले जानकारी दिनुभयो ।

विस्तारित बैठकमा पार्टीका केन्द्रीय अनुसासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक प्रकाश अर्याल, हरि पाण्डे, खेमप्रसाद पाण्डे, दिलबहादुर सिंजाली, रेनुका पाण्डे, गिता सापकोटा लगायतले आ–आफना सुझावहरु राखेका थिए । देवदह – ५, को शाखा कमिटी अध्यक्ष चक्रपानी न्यौपानेको अध्यक्षता, ७ को शाखा कमिटी अध्यक्ष रिता थापा, ८ को शाखा कमिटी अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा विस्तारित बैठक सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update