बुटवल,माघ २०
नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २ का उम्मेदवार गोकर्ण विष्टले देशलाई बाह्य हस्तक्षेप र गलत दिशाबाट जोगाउने दायित्व अब एमालेको काँधमा आएको बताउनुभएको छ। गुल्मीको मालिका, मुसिकोट र रेसुंगा नगरपालिकाबाट बुटवल आएर बसोबास गरिरहेका एमाले कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले वर्तमान अवस्थासम्म देशलाई ल्याउने शक्तिहरूलाई जनताले मतदानमार्फत जवाफ दिनुपर्ने बताउनुभयो । उहाले देश र संविधानको रक्षा गर्न एमालेको नेतृत्व अपरिहार्य भइसकेको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष विष्टले आगामी निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गर्दै अधुरा विकास योजनाहरू पूरा गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने एमालेको स्पष्ट एजेन्डा रहेको बताउनुभयो ।गुल्मी क्षेत्र नं. २ मा विकासको लहर एमालेकै नेतृत्वमा सुरु भएको उल्लेख गर्दै विष्टले ४१ वटै वडालाई समेट्ने गरी सडक कालोपत्रे योजनाहरू अघि बढाइएको जानकारी दिनुभयो।
कार्यक्रममा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले देशलाई नटवरलाल र महाठगहरूबाट जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाले नटवरलालहरू राजनीतिमा हावी भए संसद् सर्कस बन्ने चेतावनी दिँदै सचेत हुन आग्रह गर्नुभयो ।उक्त अवसरमा निर्वाचन परिचालन कमिटी गठन गरिएको थियो ।

