बुटवल, माघ २४
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले क्षेत्र नं २ मा कृण्णबहादुर थापाको संयोजकत्वमा ३ सय १ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ ।शनिवार बुटवलमा सम्पन्न भेलाले समितिको सह–संयोजकहरुमा प्रकाश परियार, सिर्जन थापा, धनसिंह खाम्चा र गोबिन्द खरेललाई चयन गरेको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका १३ वडा, कतिलोत्तमाका ६ वडा र सैनामैनाका ४ वडामा नेतृत्वमा रहेका युवाहरुलाई परिचालन समितिमा राखिएको नेकपाले जनाएको छ ।निर्वाचनको मिति नजिकिदै जाँदा निर्वाचन बिथोल्ने गतिविधि र आम मतदातालाई अनेक प्रलोभन देखाएर प्रभावित पार्ने अवस्थालाई न्यून गर्न युवाहरुले भूमिका खेल्ने संयोजक कृण्ण थापाले बताउनुभयो ।
उनका अनुसार युवा परिचालन समितिले आफ्ना उम्मेदवारलाई विजयी बनाउन मतदाता शिक्षा र चुनाव चिन्हका बारेमा समेत जनतालाई जागरुक बनाउन भूमिका खेल्नेछ ।युवा परिचालन समिति भेलामा बोल्दै नेकपा रुपन्देही क्षेत्र नं २ का नेकपाका उम्मेदवार तथा युवा नेता सुवास पाण्डे ‘विश्वदीप’ले चुनाव जितेपछि नीतिगत कामका लागि संसदमा आवाज उठाउदै युवाहरुलाई स्वरोजगार बनाउन आफूले महत्वपूर्ण पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उम्मेदवार पाण्डेले रुपन्देहीको विकासका साथै समग्र लुम्बिनी प्रदेशको विकासमा आफूले नेतृत्व गर्न चाहेको उल्लेख गर्दै पार्टीका शिर्षथ नेताहरुसंगको सहकार्यबाट प्राप्त अनुभवलाई जनताको हितमा प्रयोग गरिने बताउनुभयो ।युवाहरुले उठाएका विभिन्न जिज्ञासाहरुको जवाफ दिदै उनले आफू विजयी पछि जेन्जी आन्दोलनको मर्म र भावना अनुसार कुनै राजनीतिक पूर्वाग्रहबिना जनताको सेवामा हरदम खटिने प्रतिवद्धता व्यक्त गर्नुभयो
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं २ निर्वाचन परिचालन समितिका संयोजक नारायण जी।सी। ‘निर्मल’ले आफ्नो पार्टीको उम्मेदवार विचारमा प्रतिवद्ध, भ्रष्टचारमा कुनै दाग नलागेको निष्कलंक रहेको र विकासको स्पष्ट खाका लिएर चुनावमा होमिएकाले तारा चिन्हमा मतदान गरेर विजयी बनाउन आम मतदातालाई आग्रह गर्नुभयो ।
नयाँ भनिने दलहरुले जेन्जी आन्दोलनले उठाएका मागहरु जायज छन भन्न नसकेको उल्लेख गर्दै उहाले जेन्जी आन्दोलनको हुर्मत लिनेहरुलाई बेलैमा चिनेर जनताले मतदानबाट जवाफ दिनुपर्ने बताउनुभयो ।युवा परिचालन समितिका संयोजक कृण्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न भेलामा नेकपाका नेता एवं निर्देशक समितिका संयोजक राम परियार, प्रकाश परियार लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

