समाजलाई विभाजन गरेर मुलुक बन्न सक्दैन– एमाले सचिव अर्याल 

बुटवल, माघ २४
नेकपा एमाले सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा व्यक्तिले जित्ने की हार्ने भन्दा पनि राष्ट्रले जित्ने कि हार्ने भन्ने मुख्य प्रश्न भएको बताउनुभएको छ । स्याङ्जा रुपन्देही सम्पर्क मञ्चले स्याङ्जा क्षेत्र नंं २ का उम्मेदवार खिम थापासँग आयोजना गरेको भेटघाटलाई सम्बोधन गर्दै अर्यालले अहिले व्यक्ति भन्दा मुलुकले जित्नुपर्ने र त्यसको लागि एमालेको जित अनिवार्य भएको दाबी गर्नुभयो । 

अर्यालले राजनीतिले मुलुकलाई जोड्नुपर्नेमा अहिले नयाँ र पुरानाको नाममा समाजलाई विभाजित गर्ने काम भइरहेको बताउनुभयो।  ‘समाजलाई विभाजन गरेर मुलुक बन्न सक्दैन तर, अहिले नयाँ र पुरानाको नाममा समाजलाई विभाजन गर्ने काम भइरहेको छ, उहाले भन्नुभयो । अर्यालले निर्वाचनको समयमा थोरै मात्र पनि अल्छी नगर्न र मतदाताको घरदैलोमा पुग्न पार्टी कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।  ‘तपाईँहरूले १५ दिन मात्रै आफ्नो समय र ऊर्जा पार्टीका लागि दिनुभयो भने हामीले देखेका समृद्धिका सपनाहरू पूरा गर्ने बाटो खुल्नेछ,’ अर्यालले भन्नुभयो । 

पार्टीका अर्का सचिव छविलाल विश्वकर्माले पार्टीको सङ्गठनलाई थप सुदृढ बनाउँदै विपक्षीका भ्रमहरू चिर्नुपर्नेमा जोड दिनुभयो । उहाले भन्नुभयो, ‘हामीले जिते मात्रै अधुरा रहेका विकासका कामहरूले पूर्णता पाउँछन्, त्यसैले यो निर्वाचन हाम्रो लागि ‘गर या मर’ को स्थिति हो, विश्वकर्माले भन्नुभयो ।

 क्षेत्र नंं २ का उम्मेदवार खिम थापाले स्याङ्जा क्षेत्र नं. २ पितृले भोट हालेको क्षेत्रको रूपमा बदनाम भएको उल्लेख गर्दै त्यो दागलाई यस पटक एमालेले मेटाउने बताए। बताउनुभयो । ‘स्याङ्जा पितृले भोट हाल्ने जिल्ला हो भनेर बदनाम भइरहेको छ, त्यसलाई चिर्न एमालेले जित्नुपर्छ,’ उहाले भन्नुभयो ।कालिगण्डकी गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएका थापाले गाउँपालिकापछि सिङ्गो क्षेत्रलाई नै नमुना बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । मैले पालिकाबाट सबै जनताको निःशुल्क स्वास्थ्य बिमा सँगै शिक्षा, कृषि, सिँचाइ लगायतका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै त्यस्तै नमुना कामहरूलाई क्षेत्र र देशव्यापी बनाउने बताउनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य मोहन रेग्मी, स्याङ्जा जिल्ला अध्यक्ष पारस गैरे, एमाले लुम्बिनी प्रदेश सदस्य बाबुराम भट्टराईले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमानका लागि एमालेको जित्नुपर्ने बताउनुभयो ।कार्यक्रम मञ्चका अध्यक्ष रोमाकान्त पाण्डेको अध्यक्षता, ऋषिराम भुसालको संचालन तथा यम प्रसाद पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।


 

 

 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update