बुटवल,फागुन ३
फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा आराध्यदेव शिवको पुजाराधना गरी बुधबार देशभर महाशिरात्री पर्व मनाइएको छ । यसैबीच पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा आईतबार ६० हजार बढी भक्तजनले दर्शन गरेको सिद्धबाबा मन्दिर बिकास समितिले जनाएको छ। आईतबार विहान ४ बजेदेखिनै मन्दिर परिसरमा भक्तजनको भिड लागेको थियो ।
मन्दिरमा अखण्ड भजनसहित पुजाआजा गरिएको मन्दिर विकास समितिका अध्यक्ष सन्तोषकुमार शेरचनले जानकारी दिनुभयो । सिसि क्यामेराको निगरानीबाट गरिएको तथ्यांकका आधारमा मन्दिर भित्र पसेर ५० हजारले र भिडका कारण मन्दिरको बाहिरबाट करिब १० हजारले दर्शन गरेको अध्यक्ष शेरचनले बताउनुभयो। भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि करिब ५० जना सुरक्षाकर्मी, २०० स्वयंसेवक तथा १८ वटा सिसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको थियो।
साथै सरसफाइ, शौचालय, खानेपानी, पार्किङ, भण्डारा तथा जुत्ताचप्पल राख्ने स्थानको पनि उचित प्रवन्ध मिलाइएको थियो ।समितिका अनुसार गत वर्ष महाशिवरात्रीमा करिब ४० हजार भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष ६० हजारभन्दा बढी भक्तजन आउने अनुमान गरेको थियो । अनुमान अनुसार भक्तजन आएको समितिको दाबी छ । सचीव अरबिन्द पाण्डेका अनुसार यस वर्ष भक्तजनलाई सिद्धबाबा सुरुङमार्ग भित्र लाइन व्यवस्थापन गरेपछि भक्तजनलाई सहज भएको थियो ।सुरुङ मार्ग भित्रको भागमा लाईन लगाएर भिड व्यस्थापन र मन्दिरमा जाने आउने व्यास्था मिलाईएको थियो । विशेषगरी वृद्धवृद्धा, गर्भवती, अशक्त तथा असहाय व्यक्तिलाई प्राथमिकताका साथ मूल मन्दिरमै पुगेर पूजाअर्चना तथा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।
मेला संयोजक तोया लम्सालका अनुसार दर्शनार्थीको सुविधाका लागि दुई वटा निःशुल्क र नौ वटा सशुल्क बस सेवा सञ्चालन गरिएको थियो । यी बसहरू बुटवलका विभिन्न स्थानहरू योगीकुटी, कालिकानगर, राजमार्ग चौराहा, अस्पताल लाइन, देवीनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक, गोलपार्क तथा दोभान झुम्साबाट सञ्चालन भएका हुन् । महाशिवरात्रीका अवसरमा शिवपूजन, रुद्राभिषेक, अखण्ड हरिकीर्तन लगायतका धार्मिक कार्यक्रम समेत आयोजना गरिएको समितिले जनाएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आईतबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरी शिवरात्री मनाइएको छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
यसैबीच सिद्धबाबा मन्दिरको प्रचार, प्रसार तथा बिकासमा सञ्चार क्षेत्रबाट योगदान गरेको भन्दै ग्लोबल आवाज अनलाईनका समाचार संयोजक डिबी सुस्लिङ र नागरिक अनलाईन र बुद्ध टिभीमा कार्यरत पत्रकार कल्पना डुम्रेलाई मन्दिर बिकास समितिले नगद राशीसहित सम्मान गरेको छ । मन्दिर बिकास समितिले हरेक वर्ष सञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको छ । शिवरात्री मेलाको अवसरमा विभिन्न दाता तथा मन्दिर बिकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो।


