मतदातालाई उम्मेदबार बासुदेवको अपिल पत्र : विकास र समृद्धिको यात्रामा आयाम थप्छु, साथ दिनुहोस् 

भैरहवा, फागुन १५
 प्रतिनिधिसभा सदस्य पदका लागि फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा रूपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवारहरूले मतदाता केन्द्रित अपिललाई तीव्रता दिएका छन् । यसैक्रममा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले मतदातासमक्ष भावनात्मक र विकासमुखी पत्र पठाउँदै आफ्नो पक्षमा मत दिन आग्रह गर्नुभएको छ । 

उहाँले मतदातालाई घरदैलोमा पुर्याएको अपिल पत्रमा आगामी निर्वाचनलाई रूपन्देही–३ को विकास र समृद्धिको यात्रालाई तीव्रता दिने सुनौलो अवसरका रूपमा समेत चित्रण गर्नुभएको छ । घिमिरेले आफू विगतमा तिलोत्तमा नगरपालिकाको प्रमुख र संघीय सांसदको जिम्मेवारी सम्हालिसकेको अनुभवी व्यक्ति भएको उल्लेख गर्दै भाषणभन्दा काममा विश्वास गर्ने धारणा राख्नुभएको छ । सार्वजनिक जीवनमा आर्जन गरेको अनुभवका आधारमा क्षेत्रको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो प्रतिबद्धता पत्रमार्फत क्षेत्रको समग्र विकासका लागि विस्तृत खाका प्रस्तुत गरिएको जनाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा दिगो रूपमा सञ्चालनमा ल्याउन नीतिगत प्रबन्ध गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
 

साथै रणनीतिक तथा महत्वपूर्ण सडक स्तरोन्नति, सामुदायिक विद्यालय र क्याम्पसहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुधार, सरकारी स्वास्थ्य संस्थाको प्रभावकारिता वृद्धि तथा भूमिहीन र अव्यवस्थित बसोबासी समस्याको दिगो समाधानलाई प्राथमिकतामा राख्नुभएको छ । त्यसैगरी किसानलाई समयमै मलखाद, बिउबिजन, प्राविधिक परामर्श र सिँचाइ सुविधा उपलब्ध गराउने, पछाडि परेका वर्ग–समुदायको उत्थान र मूलप्रवाहीकरणमा जोड दिने तथा सन्तुलित र समन्यायिक विकासको अवधारणा अघि बढाउने उल्लेख गर्नुभएको छ । यी सबै कार्यका लागि जनमैत्री कानुन निर्माणमा सक्रिय रहने उहाँको प्रतिबद्धता छ ।

 घिमिरेले भ्रष्टाचारमुक्त र पारदर्शी प्रशासनको पक्षमा आफू दृढ रहेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वयमार्फत प्रणालीगत विकासमा जोड दिने बताउनुभएको छ । चार दशक लामो राजनीतिक यात्रामा आफू यही भूगोलको सुख–दुःखसँग जोडिएको बताउँदै उहाँले युवालाई देशमै अवसर सिर्जना गर्न औद्योगिक तथा सेवा क्षेत्रको विस्तार आवश्यक रहेको धारणा राख्नुभएको छ । निर्वाचित भएमा कुर्सीभन्दा अघि जनतालाई प्राथमिकता दिने र चुनावपछि पनि निरन्तर जनतासँगै रहने प्रतिबद्धता उम्मेदवार घिमिरेले व्यक्त गर्नुभएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update