रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी–व्यवसायीहरूको अपिल

बुटवल,,फागुन,१८ 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं। २ मा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका चुन्नप्रसाद शर्मा पौडेललाई मत दिन उद्योगी–व्यवसायीहरूले आग्रह गरेका छन् ।काँग्रेसको उद्योगी–व्यवसायी परिचालन उपसमितिका संयोजक हरिप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा निर्वाचनलाई व्यक्तिको प्रतिष्ठाभन्दा पनि देश रुपान्तरणको अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा रुख चिन्हमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गरिएको छ ।

विज्ञप्तिमा राजनीति आय–आर्जनको माध्यम नभई जनसेवाको अवसर भएको उल्लेख गर्दै निजी क्षेत्रप्रति काँग्रेसको विश्वासलाई मतमा परिणत गर्ने समय आएको जनाइएको छ । उम्मेदवार पौडेलले उद्योग–व्यवसाय तथा समग्र विकाससँग सम्बन्धित विभिन्न प्रतिबद्धता अघि सारेका छन् । कर तथा राजश्व कानुन सुधार गरी आयकर छुट सीमा १० लाख रुपैयाँसम्म पु¥याउने, विभिन्न शीर्षकमा लिइने करलाई एकीकृत गर्ने र भिसिटिएस तथा ई–बिलिङ प्रणालीलाई एउटै सफ्टवेयरमा समेटेर सरल बनाउने प्रतिवद्धता जनाइएको छ ।

सार्वजनिक खरिद ऐन संशोधन गरी निर्माण तथा खरिद प्रक्रिया सहज र पारदर्शी बनाउने, बुटवल औद्योगिक क्षेत्र विस्तार गर्ने तथा मोतिपुर औद्योगिक क्षेत्र स्थानीय सरकारसँगको समन्वयमा सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ ।स्वास्थ्य क्षेत्रतर्फ लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार गर्ने र बुटवल मेडिकल कलेज सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइएको छ। साथै कृषि आधुनिकीकरण, युवालाई सीपमूलक तालिम, रोजगारी सृजना, भूमिहीन व्यवस्थापन, चुरे संरक्षण, नदी तटबन्ध, सडक तथा खेल पूर्वाधार विकास, प्राविधिक शिक्षाको विस्तार र झुम्सा खानेपानी आयोजना सम्पन्न गर्ने योजनासमेत समेटिएका छन् ।

विज्ञप्तिमा काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल जनतासँग नजिक रहेर काम गर्ने नेतृत्वका रूपमा प्रस्तुत हुँदै कानुन निर्माण र विकासका एजेन्डा कार्यान्वयनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको छ । उद्योगी–व्यवसायी परिचालन उपसमितिले सम्पूर्ण उद्योगी–व्यवसायी समुदायलाई सक्रिय सहभागिताका साथ मतदान गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update