एमाले अब डिजिटल प्रविधिमैत्री संगठनका रूपमा विकसित हुनुपर्छ : सुरेन्द्र पाण्डे

बुटवल, जेठ २०
नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ले पार्टीभित्र सामान्य सुधार (रिफर्म) मात्र पर्याप्त नभई आमूल रूपान्तरण (रिभोलुसन) आवश्यक रहेको बताउनुभएको छ ।प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले वर्तमान राजनीतिक अवस्था र पार्टीको संगठनात्मक स्थितिले एमालेलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउनुभयो । उहाँले समयको मागअनुसार पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्दै रूपान्तरणको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली तर्फ संकेत गर्दै उहाँले पार्टीको अवस्था, आफ्नो स्वास्थ्य, उमेर तथा पछिल्ला निर्वाचनका नतिजासमेतलाई समग्र रूपमा समीक्षा गरेर उपयुक्त निर्णय लिनुपर्ने बताउनुभयो ।“अब अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अवस्था, आफ्नो स्वास्थ्य, उमेर र निर्वाचनको नतिजासहित सबै पक्षलाई हेरेर विचार गर्नुपर्छ,” पाण्डेले भन्नुभयो , “पार्टी निर्माण र पुनर्जागरण अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ ।”उहाँले पार्टीलाई पुनर्जीवित बनाउन नेता तथा कार्यकर्ताले व्यक्तिगत पद र जिम्मेवारीभन्दा माथि उठेर सोच्नुपर्ने बताउनुभयो । आवश्यक परे पार्टीको हितका लागि सबैले आफ्नो पदसमेत त्याग्न तयार हुनुपर्ने उहाँको धारणा थियो ।

पाण्डेले फागुनमा सम्पन्न निर्वाचनको परिणामले एमालेलाई स्पष्ट सन्देश दिएको बताउँदै कतिपय क्षेत्रमा पार्टी सदस्य संख्याभन्दा कम मत प्राप्त हुनु संगठनभित्र समस्या रहेको संकेत भएको उल्लेख गर्नुभयो ।उहाँले अबको एमाले परम्परागत संरचनामा सीमित नरही डिजिटल प्रविधिमैत्री संगठनका रूपमा विकसित हुनुपर्ने बताउनुभयो । “केवल भौतिक संरचनामा आधारित संगठनले अब पुग्दैन, डिजिटल पार्टी ट्रान्सफर्मेसन नगरी अघि बढ्न सकिँदैन,” उहाँले बताउनुभयो ।

पाण्डेले पार्टी सचिवालयले रूपान्तरणसम्बन्धी कार्यदल गठन गरिसकेको जानकारी दिँदै नेतृत्व तहमा समेत परिवर्तनको आवश्यकता महसुस हुन थालेको संकेत गर्नुभयो । उहाँले पार्टीभित्र उपयुक्त र परिपक्व निर्णय हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update