बुटवल, माघ २०
फागुन २१ का लागि तोकिएको प्रतिनीधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको दौडधुप चलिरहेको छ । मत आफ्नो पोल्टामा पार्न बिभिन्न एजेण्डा प्रस्तुत गरिरहेका छन् । तर युवाहरु भने राजनीतिक दल र नेता स्वयंले पनि युवाको मुद्धामा बहस गर्न नचाहेको बताउछन् । “अझैपनि दलितहरुको चिया पसल खोल्ने बेला भको छैन भन्छन्, समाजमा”यो भनाइ युवा अधिकारकर्मी मुना बिकको हो । बुटवलमा आयोजना गरिएको लोकतन्त्र, महिला अधिकार र युवा सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको युवा अभियान अन्तर्गत प्रदेशस्तरीय युवा मञ्चमा भागलिन आएकी दाङकी बिकले आफ्नो बेल्नेपालोको शुरुवात नै जातिय बिभेदबाट शुरु गर्नुभयो । यसले पनि हाम्रो समाजमा अझैपनि जातिय बिभेद व्याप्त छ भन्ने बुझाउँछ । जातिय बिभेदका कारण पनि युवाहरुमा सामाजिक, राजनीतिक, आर्थिक रुपमा चुनौति रहेको उहा बताउनुहुन्छ ।
कार्यक्रममा बोल्दै अपांगता युवा अधिकारकर्मी लक्ष्मी पाण्डेले केही अवसर बिस्तारै पाउने अवस्था आएको बताउनुभयो । राजनीतिमा अपांगता भएका ब्यक्तिहरु राजनीतिमा पनि बिस्तारै आइरहेको तर प्रर्याप्त नभएको बताउनुभयो । पाण्डे भन्नुहुन्छ,“प्रत्यक्षमा राजनीतिमा उम्मेदवार नभए पनि सुरुवात भएको छ , राजनीति दल पनि अहिले सकारात्मक हुन थालेका छन्।”
अपांगता भएको ब्यक्ति भनेर मात्रै नहुने भन्दै उहाले सबै बर्ग, युवा, महिला, यौनिक तथा लैङ्िगक अल्पसंख्यक भित्रको अपांगता, युवा भित्रको दलित,सीमान्तकृतका कुरा कत्तिको सुनुवाई भएको छ भन्न्ेकुरा महत्वपुर्ण हुने बताउनुभयो । पाण्डेले राजनीति प्रणाली अपांगता मैत्री छैन, संरचना पनि अपांगता मैत्री छैन , यता ध्यान कहिले दिने त भन्ने प्रश्न गर्नुभयो ।
यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायका रेशम न्यौपानेले अहिले पनि यो बर्गका मानिस आधारभुत अधिकारबाटै बन्चित हुनुपरेको अवस्था रहेको बताउनुभयो ।न्यौपानेले भोको पेटले बाटोमा उभ्याउन बाध्य बनाएको बताउदै यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायका नागरिकका समस्यालाई राज्यले कहि कतै सम्बोधन गर्न नससकेको बताउनुभयो । यही भूमिमा जन्मिएर पनि पहिचान खोज्न निरन्तर राज्यको ढोका ढक्ढक्याउनुपर्ने दुखद् अवस्थाबाट दिनहु गुज्रिएको उहाले द्खेसो गर्नुभयो ।
किशोरी अधिकार मन्च रुपन्देही अध्यक्ष सुनिता हरिजनले युवाहरुको अधिकारका लागि विद्यालय, परिवार, समुदाय र राज्यबाट निरन्तर सचेनामूलक कार्यक्रम हुन जरुरी रहेको बताउनुभयो ।उहाले युवाहरुको बिचार र समस्यामा अझैपनि विश्वासको कमी भएको बताउनुभयो । हरिजनका अनुसार नेतृत्व पुस्तान्तरण युवाको चुनौतीको बिषय रहेको औल्याउनुभयो । राजनीति दलले किशोर किशोरीको कुरा र आवाज समेट्न जरुरी रहेको उहाको भनाई छ ।
नमस्ते नेपालका अध्यक्ष मनिष भुषालले युवाको राजनीतिमा सहभागीता आजको आवश्यकता भएको बताउनुभयो । अबको नेपाल युवाको नेतृत्वमा हुन आवश्यक छ, उहाले भन्नुभयो । युवा भन्ने बित्तिकै उमेरले मात्रै नभएर नैतिकवान, अनुशासन र सोच पनि युवा हुन आवश्यक रहेको भुषालको भनाई छ । युवाहरुले सामाजिक संजालको सहि सदुपयोग गर्न आवश्यक रहेको बताउदै समाजमा सचेत युवाको खाचो रहेको औल्याउनुभयो ।
युवा राजनीतिक विश्लेषक शंकर भण्डारीले चुनौती बाट बचेर हामीले समाजलाई सही दिशामा पुर्याउन आफनो समुदाय संगै अरु सम्पुर्ण समुदायको समस्या समाधान गर्न सक्ने युवाको खाचो रहेको बताउनुभयो । अहिले गुगलमा हामी भुलेको बताउदै भूगोलको चिन्ता गरेर अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो। आज पनि दुरदराजमा रहेका महिला,युवा र पछाडी पारिएको समुदायको प्रतिनिधित्व हुन नसकेको बताउनुभयो । भण्डारीले युवाको जोश, जागर, समयको सदुपयोग गर्दे अग्रजको अनुभवलाई एकैठाउ राखेर अबको योजना र देश निर्माणमा लाग्न सुझाव दिनुभयो । शिक्षा, स्वास्थ्य ,रोजगार जस्ता जिवनयापनका बलिया आधारका बारेका पर्याप्त बहस नै हुन नसकेको भन्दै दलिय संरचना युवामैत्री नहुदा युवाहरुको आवाज सुनुवाई हुन नसकेको उनीहरुको भनाई छ ।
ओरेक नेपालका कार्यक्रम संयोजक साबित्री बिकले लोकतन्त्र,महिला अधिकार र युवा सहभागीताका लागि प्रदेश स्तरीय अभियान बुटवलमा गरिएको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका ९० जना भन्दा बढीको सहभागिता रहेको थियो । युवा अभियान धनगढीबाट सुरु भई हाल लुम्बिनीमा आयोजना गरिएको हो । निर्वाचनपछि अन्य प्रदेशमा विस्तार गरिने बिकले बताउनुभयो । ओरेकले बिगत लामो समयदेखि यस्ता अभियान सञ्चालन गर्दै आएको छ ।

