बुटवल, फागुन १५
नेपाली काँग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेद्वार गगनकुमार थापाले भड्किला भाषणले देश नबन्ने बताउँदै सबै शक्तिबिचको सन्तुलन मिलाएर देश सम्हालने ताकत काँग्रेससंग मात्रै रहेको बताउनुभएको छ । बुटवलमा शुक्रबार आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताउनुभएको हो ।
सभापति थापाले किसानका खेतमा मल पुर्याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको बताउनुभयो । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस्,थापाले भन्नुभयो ।पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नसभापति थापा आग्रह गर्नुभयो ।
सभापति कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको दाबी गर्दै कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गर्नुभयो । सभापति थापाले नवयुवासँग कुरा गर्दा शुरूमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराउँदै पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा नम्रताका साथ सम्झाउन अनुरोध गर्नुभयो । काँग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गर्नुभयो ।
सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गर्दै विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट काँग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो ।उहाँले देशमा केही गर्ने र गर्न सक्ने भनेर माटोमा खुट्टा जमाएर बसेको पनि बताउनुभयो । उहाले अब गाउँमा गएर काम नगरेसम्म बाँझिएका खेतबारी हराभरा हुन नसक्ने बताउनुभएको छ ।

