बुटवल,फागुन १८
०६४ सालदेखि रूपन्देहीबाट निरन्तर निर्वाचित हुँदै आएका विष्णुप्रसाद पौडेल यतिबेला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, रूपन्देहीमा पुनः मत माग्दै चुनावी मैदानमा सक्रिय छन् । नेकपा (एमाले)का उपाध्यक्ष, पूर्वउपप्रधान तथा पूर्वअर्थमन्त्रीसमेत रहेका उनले रूपन्देहीलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि र सुशासनको समन्वित केन्द्रका रूपमा विकास गर्ने मार्गचित्रसहित मतदातामाझ प्रस्तुत भएको बताइरहेका छन् । निर्वाचनमा अघि सारेका एजेण्डासँगै समृद्ध रूपन्देहीको अवधारणा, राष्ट्रिय राजनीति र स्थानीय विकासबीचको सम्बन्ध, पार्टीको आन्तरिक अवस्था तथा आगामी प्राथमिकताबारे पौडेलसँग गरेको विस्तृत कुराकानीः
तपाईंलाई जनताले किन मत दिने ?
मेरो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर रूपन्देहीलाई राष्ट्रिय विकासको अग्रणी केन्द्र बनाउने अभियान हो । विगतमा हामीले सडक, पुल, अस्पताल, औद्योगिक क्षेत्र, खेलकुद पूर्वाधारजस्ता आधार तयार गरेका छौँ । अब ती आधारमाथि गुणस्तरीय सेवा, रोजगारी र उत्पादन वृद्धि गर्दै सामाजिक न्याय सुनिश्चित गर्ने चरणमा प्रवेश गर्नुपर्छ । विकासको लाभ सबै समुदाय, सबै वर्ग र सबै वडासम्म पुगोस् भन्ने मेरो स्पष्ट प्रतिबद्धता छ । निरन्तरता, अनुभव र परिणामका आधारमा जनताले मलाई विश्वास गर्नुभएको छ र यसपटक पनि त्यही विश्वासलाई अझ उचाइमा पु¥याउने संकल्पका साथ आएको छु । भौतिक विकाससँगै सामाजिक विकास र सबल अर्थतन्त्रलाई यो पटक थप प्राथमिकताका साथ अघि सारेको छु ।
एमालेले यस निर्वाचनमा मतदातासमक्ष मुख्यतः के एजेन्डा लिएर मत मागिरहेको छ ? राष्ट्रिय मुद्दा कि स्थानीय विकास ?
नेकपा (एमाले) राष्ट्रिय दृष्टिकोणसहित स्थानीय आवश्यकता सम्बोधन गर्ने पार्टी हो । आर्थिक स्थायित्व, सुशासन, उत्पादन र रोजगारी वृद्धि, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमान हाम्रो मुख्य एजेन्डा हो । स्थानीय तहमा भने पूर्वाधार, स्वास्थ्य, शिक्षा, उद्योग, कृषि र पर्यटन प्राथमिकतामा छन् । राष्ट्रिय र स्थानीय मुद्दा परस्पर जोडिएका विषय हुन् । केन्द्रमा नीतिगत स्थिरता नभई स्थानीय विकास सम्भव हुँदैन । त्यसैले हामी दुवै तहलाई समन्वित ढंगले अघि बढाउने योजनामा छौँ । हामीले जे गर्नसक्छौं त्यो विषय सम्बोधन गरेका छौं, हिजको इतिहास पनि त्यही हो ।
धेरै पटक सांसद, मन्त्री भइसक्नुभयो, मुख्य पाँच उपलब्धी कसरी छुट्टाउने ? र अब के छन् नयाँ योजना ?
मेरो कार्यकालमा रूपन्देहीमा पूर्वाधार विकासले गति लिएको विषय विपक्षी दलकै एजेण्डामा समेत देखिएबाट प्रष्ट हुन्छ । हिजोको बुटवल वरिपरीको विकास र अहिलेको अवस्थाले त्यो चित्रण गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बजेट सुनिश्चिता, बुटवललाई सबैतिरको सडक सन्जालको कनेक्टिभिटीमा जोड्ने, तिनाउ–दानव नदीमा दर्जन बढी पुल निर्माण, तिनाउ–दानव नदीको तटबन्ध प्रबन्ध, सिद्धबाबा सुरुङमार्ग, यस क्षेत्रका शैक्षिक क्षेत्रका संरचना निर्माणमा आवश्यक बजेट निर्माण गर्न संसदीय विकास कोषको सबै रकम लगानीलगायत यसअघि गरेका धेरै उदाहरण छन् । अब कालीगण्डकी डाइभर्सन, सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी पोखरासम्मको बाटो २ घन्टामा सीमित, तिनाउ नदीमा नेपालकै नमुना सिग्नेचर पुल निर्माण, मोतीपुर औद्योगिक क्षेत्र स्थानीयको व्यवस्थापनसहित संचालन, खेलकुद संरचना विकास, शिक्षा र स्वास्थ्य पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखेको छु । अब बाँकी रहेका संरचनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने चरणमा छौँ । अर्थमन्त्री हुँदा राष्ट्रिय रूपमा आर्थिक सुधार, राजस्व व्यवस्थापन र पूर्वाधारमा लगानी वृद्धि गरियो र निजी क्षेत्रलाई विश्वासमा लिएर सुस्ताएको अर्थतन्त्रलाई उठाउने कामको अगुवाई गरेँ ।
नयाँ दल र स्वतन्त्र उम्मेदवारको प्रभावबारे तपाईंको आकलन ? प्रतिस्पर्धा कससँग ?
लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो । नयाँ दल वा स्वतन्त्र उम्मेदवार आउनु सकारात्मक संकेत हो । तर अन्ततः मतदाताले स्थिरता, अनुभव र परिणामलाई प्राथमिकता दिनुहुन्छ भन्ने मेरो विश्वास छ । प्रतिस्पर्धा सबैसँग छ, तर मुख्य प्रतिस्पर्धा विचार र कार्यसम्पादनबीच हुन्छ । मैले विकासको स्पष्ट आधार तयार गरेको छु, त्यसैले जितको आधार बलियो छ । रुपन्देहीवासीले फराकिलो मतान्तरले विजयी बनाएर मैले अघि सारेका संकल्प पूरा गर्न पठाउनुहुने छ । कुनै प्रक्षेपणका आधारले होइन यहाँका मतदाताले कुन उम्मेदारका योजना र क्षमता के छन् भनेर छान्नुहुनेछ । रुपन्देहीमा, लुम्बिनीमा एमालेको बहुमत आउने छ, प्रतिस्पर्धामा नेपाली कांग्रेस नै आउने हो ।
पार्टीभित्र आन्तरिक एकता कस्तो छ ?
महाधिवेशनपछि पार्टी अझ एकीकृत र संगठित बनेको छ । मतभेद लोकतान्त्रिक प्रक्रियाको हिस्सा हुन्, तर नीति र नेतृत्वप्रति प्रतिबद्धता स्पष्ट छ । नेकपा (एमाले) भित्र आन्तरिक एकता सुदृढ छ र सबै समूहलाई समेटेर अघि बढ्ने संस्कार स्थापित भएको छ । हिजो पार्टीको मूल धारमा बाहिर रहनुभएका धेरै साथीहरु अहिले धमाधम एमालेमा समाहित हुनुभएको छ । त्यो एमाले सुदृण बनाउने अभियानकै रुपमा हो, अब एमालेभित्र कुनै समूह छ भनेर रमाउनेहरु जिल्ल परिसकेका छन् । पार्टीभित्र बहस, छलफल सबै हुन्छ तर आमरुपमा एमालेभित्र कुनै समस्या छैन र हुनेछैन । त्यो कसैले कल्पना नगरे हुन्छ ।
गत निर्वाचनमा एमालेविरुद्ध गठबन्धन थियो, थोरै मतान्तरले जित्नुभएको थियो, यसपटक के आंकलन छ ?
गत निर्वाचनमा तत्कालीन माओवादी–कांग्रेससहितका ५ दलको गठबन्धनसँग प्रतिस्पर्धा थियो । त्यसमाथि रुपन्देहीमा त उम्मेदार नै निकै थोरै भएको अवस्था थियो । यसपटक जनताको विश्वास अझ बढेको अनुभव गरेको छु । विकासका आधारहरू देखिने गरी अघि बढेका छन् । त्यसैले मतान्तर फराकिलो हुने विश्वास छ । अहिले सबै दलका उम्मेदार प्रतिस्पर्धामा रहेकाले आफ्नो मत सुरक्षित हुन्छ नै, एमालेको बलियो सांगठनिक आधारसँगै स्थानीयले पार्टी र उम्मेदारसँगको विश्वासका आधारमा मतान्तर फराकिलो हुने हो ।

सदनलाई प्रभावकारी बनाउन तपाईंका प्राथमिकता ?
संसद नीति निर्माणको केन्द्र हो । प्रभावकारी विधेयक, पारदर्शी बजेट र जनहितका विषयमा सशक्त आवाज उठाउनेछु । संघीयता कार्यान्वयन, आर्थिक सुधार र सुशासनका लागि रचनात्मक भूमिका खेल्नेछु । संविधान सभादेखि नै विभिन्न जिम्मेवारीका कानुन निर्माणमा निरन्तर लागेको छु ।
जिल्लाको समग्र विकासका लागि ठोस योजना ? पहिलो प्राथमिकता कुन क्षेत्रमा ?
स्वास्थ्य र पूर्वाधार तत्कालीन प्राथमिकता हुन् । १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल पूर्ण सञ्चालन, सैनामैना र तिलोत्तमा अस्पताल स्तरोन्नति, निःशुल्क रक्तसञ्चार सेवा र प्रभावकारी स्वास्थ्य बिमा कार्यान्वयन हाम्रो लक्ष्य हो । पूर्वाधारतर्फ सिद्धबाबा सुरुङमार्ग, पूर्वपश्चिम राजमार्गअन्तर्गत तिनाउ नदीमा सिग्नेचर पुल, बेलबास–बेथरी सडक विस्तार, सैनामैना चक्रपथ, तथा “ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट” कार्यक्रम अघि बढाइनेछ । उद्योगतर्फ मोतीपुर औद्योगिक क्षेत्र पुनःसंरचना, बुटवल औद्योगिक क्षेत्र विस्तार, धागो कारखाना पुनःसञ्चालन, बेलहिया एकीकृत जाँच चौकी सञ्चालन प्रमुख योजना हुन् । कृषितर्फ सेमलार कृषि उपज थोक बजार, सिँचाइ सुदृढीकरण, तिनाउ–दानव नदी नियन्त्रण, बहुउद्देश्यीय बाँध निर्माण प्राथमिकता हुन् ।
सांसद जिल्लाको विकासका लागि कि संघीय सत्ता सञ्चालनका लागि ?
सांसद दुवै भूमिकामा हुन्छन् । नीति निर्माणमार्फत राष्ट्रिय ढाँचा तयार गर्ने र त्यसको लाभ जिल्लामा पु¥याउने जिम्मेवारी सांसदकै हो । राष्ट्रिय र स्थानीय विकास परस्पर निर्भर छन् ।
लुम्बिनी प्रदेशका २६ तथा देशभर एमालेले कति सिट जित्ने प्रक्षेपण ?
रुपन्देहीका ५ सहित लुमिबनीका २६ निर्वाचन क्षेत्र रहेका छन् । आन्तरिक रूपमा रुपन्देहीसहित लुम्बिनी प्रदेशमा बहुमत र देशभर निर्णायक शक्ति बन्ने प्रक्षेपण छ । सरकार निर्माणमा एमाले मुख्य भूमिकामा रहने छ ।
प्रतिस्पर्धी दलबीच कस्तो संस्कार ?
हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौँ । विचारमा प्रतिस्पर्धा गरौँ, व्यक्तिगत आक्षेपमा होइन भन्ने हाम्रो मान्यता छ । लोकतन्त्रको सौन्दर्य नै मर्यादित प्रतिस्पर्धा हो । उम्मेदारी मनोनयन गरेदेखि अहिलेसम्मका मेरा अभिव्यक्ति सबै केलाउन सक्नुहुन्छ मैले कुनै दल तथा उम्मेदारलाई गाली गरेको छैन ।
तपाईले मतदातासँग कस्तो प्रतिवद्धता ल्याउनुभएको छ ?
मेरो प्रतिवद्धतामा भौतिक विकाससँगै मानवीय विकासलाई अघि सारेको छु । शिक्षा र युवाः रूपन्देहीलाई विद्यालयदेखि उच्च शिक्षासम्म आत्मनिर्भर बनाउने लक्ष्य छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार, बुटवल बहुमुखी क्याम्पस सुदृढीकरण, लुम्बिनी वाणिज्य क्याम्पसलाई व्यवस्थापन तथा सूचना प्रविधिको मानित विश्वविद्यालयमा रूपान्तरण गर्ने योजना छ । प्राविधिक शिक्षा, इन्जिनियरिङ र कृषि क्याम्पस स्थापना गरिनेछ । “पढ्दै काम गर्दै” नीति लागू गरिनेछ ।
सूचना प्रविधि र रोजगारीः रूपन्देहीलाई आईटी हब बनाउने लक्ष्य छ । सफ्टवेयर, डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ क्षेत्रमा सहुलियत कर्जा र स्टार्टअप सिड फन्ड उपलब्ध गराइनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई उत्पादन क्षेत्रमा लगानी गर्न सहजीकरण गरिनेछ ।
पर्यटन र सम्पदाः लुम्बिनी गुरुयोजना कार्यान्वयन, तिलौराकोट–रामग्राम–देवदह–सैनामैना जोड्ने बृहत् योजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन, जितगढी किल्ला र मणिमुकुन्द सेन दरबार संरक्षण प्राथमिकतामा छन् ।
भूमि समस्या समाधानः भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण राज्यको दायित्व हो । नापजाँच र अभिलेखीकरण तीव्र पारिनेछ । कोदाले, बिटौरी, गुठी, सहरी ब्लकका जटिल मुद्दा समाधान गरिनेछ ।
ऊर्जा र हरित विकासः कर्साघाट सब–स्टेशन निर्माण, भूमिगत केबल प्रणाली, सौर्य ऊर्जा प्रवद्र्धन, हरित अर्थतन्त्र विकास प्राथमिकतामा छन् ।सुशासन प्रतिबद्धताः भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, नियमित जनसुनुवाइ, प्रगति प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता छ ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
रूपन्देहीसँग अपार सम्भावना छ । हामीले आधार तयार गरिसकेका छौँ । अब तीव्र समृद्धिको चरणमा प्रवेश गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, कृषि, खेलकुद र सुशासनलाई समन्वित गर्दै रूपन्देहीलाई राष्ट्रिय अर्थतन्त्रको गतिशील केन्द्र बनाउने स्पष्ट लक्ष्य छ । विवेकपूर्ण निर्णयमार्फत समृद्ध र न्यायपूर्ण भविष्य निर्माणमा साथ दिन उहाँले मतदातासँग आग्रह गर्नुभएको छ ।

