पाल्पा,जेठ १८
गुल्मेली सम्पर्क समाज रूपन्देहीले आफ्नो २१ औँ स्थापना दिवसको अवसरमा गुल्मी प्रभास स्मारिका लोकार्पण गरेको छ । समाजले आफ्नो स्थापना कालदेखि वर्तमान समयसम्म गरेका कामको गतिविधिसहित गुल्मेली भाषा, कला, साहित्य, पर्यटन, शिक्षा, इतिहास, धर्म, संस्कृति, आयुर्वेदलगायत विविध विषयवस्तुलाई समेटेर ३६४ पृष्ठको स्मारिका तयार गरेको हो ।
स्मारिकाको खण्ड ‘क’ मा गुल्मेली सम्पर्क समाज रूपन्देही र यस संस्थाको गुरुयोजनाअनुसार सञ्चालित श्री शृङ्गेश्वर धाम, ज्येष्ठ नागरिक मिलनकेन्द्र, रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा संरक्षकत्व प्रदान गरेको छोरी शिक्षा कार्यक्रम एवम् समाजको भैरहवा शाखाको परिचय तथा गतिविधिलाई समेटिएको छ भने स्मारिकाको खण्ड ‘ख’ मा गुल्मीसँग सम्बन्धित लेखहरू समावेश छन् । त्यसैगरी खण्ड ‘घ’ मा कविता, गीत, गजल, कथा, मुक्तक, लघुकथा आदि समावेश गरिएको छ भने खण्ड ‘ङ’ मा समाजका आजीवन सदस्यहरूको नामावली र समाजसँग सम्बन्धित गतिविधिलाई दृश्यमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ब्रह्मनिष्ठ शन्त शिरोमणि श्री लोकानन्द स्वामीले समाजले सामाजिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो भने रेसुङ्गा नगरपालिकाका प्रमखु खिलध्वज पन्थीले समाजका काम सराहनीय रहेको बताउनुभयो । त्यसैगरी राष्ट्रिय सभा सदस्य विष्णु सापकोटा र गुल्मी जिल्ला समन्वय समिति सदस्य सुनिता जि.सी. कुँवरले गुल्मेली सम्पर्क समाजले अनुकरणीय र प्रशंसायोग्य काम गरेको बताउनुभयो ।
कार्यक्रममा प्रकाशन उपसमितिका संयोजक लोकनाथ उपाध्याय, आर्थिक व्यवस्थापन उपसमितिका संयोजक हेम थापा, सम्पादन मण्डलका संयोजक पुरुषोत्तम पाण्डेयले स्मारिका प्रकाशन, सम्पादन र आर्थिक व्यवस्थापनका बारेमा बताउनुभएको थियो भने समाजका प्रथम उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साहित्यकार ऋषिराम भुसालले स्मारिकाको सङ्क्षिप्त समीक्षा गर्दै स्मारिकाले गुल्मीका धेरै विषयक्षेत्र र समाजका गतिविधिलाई समेटेको बताउँदै आगामी दिनमा गुल्मी विद्वान् स्रष्टाका थप लेखहरू समेट्न सके स्मारिका अझ बढी स्तरीय हुने बताउनुभयो ।
श्री शृङ्गेश्वर धामको सभाहलमा भएको कार्यक्रममा समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थले स्मारिका प्रकाशनका क्रममा अहोरात्र खट्नुहुने समाजका पदाधिकारी, प्रकाशन, आर्थिक व्यवस्थापन र सम्पादन मण्डलका संयोजक तथा सदस्यहरूलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा थप रचनात्मक कार्य गर्दै जाने कुरा बताउनुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजका महासचिव कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा स्मारिका प्रकाशन, सम्पादन र आर्थिक व्यवस्थापन उपसमितिका पदाधिकारीलाई सम्मान पत्र प्रदान गरिएको थियो भने समाजमा आजीवन सदस्यता लिएका व्यक्तिव्वहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।


