वेस्टर्न मेगा कलेजद्वारा मुक्तिनाथ बाबा धाममा सरसफाई सम्पन्न

बुटवल, साउन ४
बुटवल उपमहानगरपालिका–१५, ढवाहामा अवस्थित वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले बुटवल–१४, नयाँगाउँस्थित मुक्तिनाथबाबा धाम मन्दिर परिसरमा सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन्।कलेजमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर परिसरमा सरसफाइ गर्नुका साथै दर्शनार्थी तथा तीर्थालुहरूलाई आवश्यक सेवा प्रदान गरेका हुन्।

श्रावण महिनाको पावन अवसरमा मन्दिर परिसर तथा वरपरको वातावरण स्वच्छ राख्ने र दर्शनार्थीहरूलाई सहज तथा व्यवस्थित सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार यो अभियान श्रावण महिनाभरि निरन्तर सञ्चालन गरिनेछ। 

अभियान अन्तर्गत साउन ११ गते पाल्पा दोभानस्थित सिद्धबाबा मन्दिर र सैनामैना–४ स्थित बोलबमधाममा सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ। त्यसैगरी साउन १८ गते जानकीनगरस्थित श्री सिद्धेश्वरनाथ शिव मन्दिर तथा नयाँमिलस्थित दुर्गा-शिव मन्दिर परिसरमा सरसफाइ गरिनेछ भने साउन २५ गते भैरहवास्थित मोक्षधाम र बसदिलवा शिव मन्दिर परिसरमा पनि सरसफाइ कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कलेजले जनाएको छ।

कलेजका प्राचार्य अधिवक्ता शर्माले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक अनुभव दिलाउने, सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने तथा समाजसँग प्रत्यक्ष जोड्ने उद्देश्यले यस्ता रचनात्मक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताउनुभयो। उहाँले यस्ता गतिविधिले विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सेवाभाव र सामाजिक उत्तरदायित्वको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा कलेजका शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति र सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको कलेजले जनाएको छ। वेस्टर्न मेगा कलेजमा स्नातक तहअन्तर्गत चारवर्षे BIT तथा स्नातकोत्तर तहअन्तर्गत दुईवर्षे MBA कार्यक्रम सञ्चालनमा रहेका छन्। साथै शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना खुला रहेको जानकारी पनि कलेजले दिएको छ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update