वेस्टर्न मेगा कलेज बुटवलमा शिक्षा संगै अतिरिक्त सचेतना : महिनावारी स्वास्थ्य, सरसफाईमा छलफल

बुटवल,जेठ २०
बुटवल–१५ स्थित वेस्टर्न मेगा कलेजमा महिनावारी स्वास्थ्य, सरसफाइ तथा सचेतना सम्बन्धी  एक दिने अन्तरक्रिया तथा सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रममा कलेजमा बीएचएम अध्ययनरत विद्यार्थी, कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरूका साथै आरम्भ रिसोर्टमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो।कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकी वरिष्ठ नर्सिङ निरीक्षक माधुरी ज्ञवालीले प्रशिक्षक तथा सहजीकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले महिलाहरूमा गम्भीर रूपमा देखिने विभिन्न स्त्रीरोग, महिनावारीका बेला हुने स्वास्थ्य समस्या, तिनको पहिचान, उपचार विधि, व्यक्तिगत सरसफाइ, स्वास्थ्य व्यवस्थापन तथा समस्याको निराकरणका उपायबारे विस्तृत जानकारी दिनुभएको थियो।

ज्ञवालीले महिलाको स्वास्थ्य समग्र शारीरिक, मानसिक, प्रजनन तथा सामाजिक स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत हुँदा धेरै रोग तथा समस्याबाट बच्न सकिने जानकारी दिनुभयो । स्वास्थ्य प्रति कुनै संकोच नमानी छोराछोरीले बिद्यालय वा कलेजमा सिकेका कुरा परिवारमा जानकारी गराउने र छलफल गर्नुपर्ने उहाको सुझाव छ ।अन्तरक्रियाका क्रममा सहभागी विद्यार्थी तथा कर्मचारीहरूले महिनावारीसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। कार्यक्रममा महिनावारी प्राकृतिक जैविक प्रक्रिया भए पनि यससम्बन्धी पर्याप्त ज्ञान, सचेतना तथा खुला छलफलको अभावका कारण धेरै महिला तथा किशोरीहरूले मानसिक एवं शारीरिक पीडा भोग्नुपरेको विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा बोल्दै कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले महिनावारीलाई अझै पनि समाजका धेरै क्षेत्रमा संकोच र गलत बुझाइका साथ हेरिने गरेको बताउनुभयो। उहाँले सही ज्ञानको अभावका कारण महिला तथा किशोरीहरू विभिन्न स्वास्थ्य समस्याको जोखिममा पर्ने भएकाले यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, महिनावारीसँग सम्बन्धित समस्याबारे उचित जानकारी प्रदान गर्दै त्यसबाट उत्पन्न हुन सक्ने थप जटिलताको रोकथाम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी र बीएचएम अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम संयोजक एलिजा बज्राचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश खाम्चाको संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन बीएचएम अध्ययनरत छात्रा समिता जी।सी।ले गर्नुभएको थियो।  यस अवसरमा कलेज प्रशासनले वेस्टर्न मेगा कलेजमा स्नातक तहअन्तर्गत चारवर्षे बीआईटी (BIT) र बीएचएम BHM कार्यक्रम तथा स्नातकोत्तर तहमा दुईवर्षे एमबीए MBA कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएको छ। साथै शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना खुला भइसकेको जानकारी पनि गराइएको छ।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update