
ललितपुर,असार २७
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सरकार, युवा र महिला उद्यमी मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।महिला उद्यमी महासङ्घद्वारा आयोजित अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकासलाई समृद्धिको आधार बनाउँदै जानुपर्नेमा जोड दिनुभएको हो।
‘हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्यमा भन्नुभयो, ‘सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च प्राथमिकता दिएको छ, यस सम्मेलनबाट आउने निष्कर्षले सरकारका प्राथमिकता अनुरूपको नीति निर्माणमा सघाउ पुर्याउने विश्वास लिएको छु।’
उहाँले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहार दुवै माध्यमबाट आवश्यक आधार बनाइरहेको उल्लेख गर्दै तीनै तहका सरकारमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको जानकारी दिनुभयो।‘विद्यालयहरूमा छात्राको सङ्ख्या छात्रभन्दा बढी छ, नतिजामा पनि छात्राहरू अग्रणी छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘महिलाको सहभागिता र सशक्तिकरणका क्षेत्रमा अझै प्रगति हासिल गर्दै जानुपर्ने छ।’
सम्मेलनमा देशविदेशका महिला नेतृहरू, उद्यमीहरू, अनुसन्धानकर्ता र नीति निर्माता सहभागी छन्। सम्मेलनमार्फत महिला नेतृत्व, आर्थिक सशक्तिकरण, नीति निर्माण र क्षेत्रीय सहकार्यका विषयमा बहस हुने आयोजकले जनाएको छ।