बुटवल,फागुन २४
११६ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा २५ सय मिटर खुल्ला महिला दौड प्रतियोगिता आईतबार सम्पन्न भएको छ । रेडियो मुक्ति बुटवलको आयोजना, बुटवल उपमहानगरपालिका,तिलोत्तमा नगरपालिका,सामाजिक विकास डिभिजन कार्यालय रुपन्देही, मल्टीस्पेसियलिटी क्लिनिक बुटवल लगायत विभिन्न ३५ सामाजिक संस्थाहरुको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
महिला सशक्तिकरणका लागि खेलकुद भन्ने नारा सहित सम्पन्न प्रतियोगितामा तिलोत्तमा ३ सिमानगरकी अंकिता कठेरिया प्रथम हुनुभयो । उहाँले यो दुरी ८ मिनेट ३१.४९ सेकेण्डमा पार गर्दै उपाधिसंगै नगद ७ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो । यसैगरि योगीकुटीकी प्रकृति घिमिरे ८ मिनेट ३६.२४ सेकेण्डमा दुरी पार गर्दै द्धितिय बन्दै नगद पाच हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो । प्रतियोगितामा मोतिपुरकी रक्षा श्रीषले ८ मिनेट ३९.८७ सेकेण्डमा दुरी पार गर्दै तृतिय स्थान हासिल गर्दै नगद ३ हजार पाच सय रुपैया, प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो ।
एक समारोहका बिच नेशनल मल्टीस्पेसियलिटी क्लिनिक सुपर स्पेसियलिटी केयर सेन्टरका संचालक लक्ष्मण घिमिरे, समाजसेवी बुलबुल श्रेष्ठ, गायत्री श्रेष्ठ, रेडियोकी अध्यक्ष दीपु पोखरेल, उपाध्यक्ष कबिता अर्याल,स्टेशन म्यानेजर कल्पना तिवारीले पुरस्कार वितरण गर्नुभयो । यसअघि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवि अर्यालले दौड कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले महिलाको शसक्तीकरणका लागि पालिका सधै साथमा रहेको बताउनुभयो । उद्यममा महिलाको अग्रसरता संगै खेल क्षेत्रमा महिलाको सहभागिता बढाउन पालिकाले पनि बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।
उप प्रमुख साबित्रादेबि अर्यालले महिलाको एतिहासमा संघर्ष धेरै भएपनि उपलब्धी सोचेजस्तो हुन नसकेको बताउनुभयो । रेडियोका अध्यक्ष दिपु पोखरेलले महिला समानता खेलमा महिलाको सहभागिता बृद्धि संगै महिला दिवसलाई उतसवका रुपमा मनाउन हरेक बर्ष खेल प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । कार्यक्रममा सहकार्य गर्नुभएकोमा सबै संघसंस्था प्रति आभार ब्यक्त गर्नुभयो ।
२५ सय मिटर दौड प्रतियोगितामा रुपन्देहीका बिभिन्न पालिकाका करिव ४ सय महिला सहभागी भएका थिए । २०६५ सालमा स्थापना भएको यस सामुदायिक रेडियोले लैंगिक हिंसा न्यूनिकरण,लैंगिक समानताका र महिला सशक्तिकरणको विषयलाई प्राथमिकतामा राखि संचारको माध्यमबाट बहस , पैरवी र समुदाय स्तरका कार्यक्रम गर्दै आएको छ ।११६ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च ) फागुन २४ गते आईतबार “सबै महिला र बालिकाको लागि अधिकार,न्याय र कार्य सहितको अवसर” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी बिश्वभर एकैसाथ मनाईदैछ ।

