मनोरञ्जन तथा सत्कार क्षेत्रका महिलाहरुको विकासका लागि बुटवलमा तालिम शुरु 

बुटवल,माघ २०
महिलाका निम्ति महिला मञ्च नेपालको आयोजनामा संस्थागत विकास तथा पैरवी सिप विकास तालिम मंगलबारदेखि बुटवलमा शुरु भएको छ । महिलाका निम्ति महिला मञ्च नेपाल अन्र्तगत गठनभएका जिल्ला पहिचान संजालमा आवद्ध गण्डकी,बाग्मती र लुम्बिनी प्रदेशका रुपन्देही, दाङ,कपिलवस्तु,कास्की र चितवनका सदस्यहरुको सहभागितामा संस्थागत विकास तथा पैरवी सिप र क्षमता सुदृढिकरण सम्बन्धि तालिम शुरु भएको हो । कार्यक्रममा मनोरञ्जन तथा सत्कार क्षेत्रमा लागेका महिलाहरुको सहभागिता रहेको छ । 

तालिमको शुभारम्भ गर्दै संस्थाका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक सृजना पुनले मनोरन्जन तथा सत्कार क्षेत्रको मुद्दाले अझैपनि सामाजिक,आर्थिक,सास्कृतिक,राजनीतिक हिसावले स्थान पाउन नसकेको अवस्थामा यस्ता तालिमले आ-आफ्नो क्षेत्रबाट आवाज उठाउन सहज होस् भन्ने उदे्श्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । हरेक क्षेत्रमा सम्मान सहित श्रमिक बर्गको समस्या समाभानमा राज्यको दायित्व निर्धारण हुनुपर्ने उहाको भनाई छ । 

महिलामाथि हुने विभेद चुनौतीको रुपमा रहेको बताउँदै उहाले संस्थालाई आगामी दिनमा अझ प्रभावकारी बनाउन निरन्तर यस्ता कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउनुभयो । मञ्चका सल्लाहकार पार्वती बस्नेतले अझैपनि मनोरन्जन तथा सत्कार क्षेत्रको श्रमिकले जातीय विभेद भोगिरहेको अवस्था रहेको बताउनुभयो।उहाले मनोरञ्जन तथा सत्कार क्षेत्रमा लागेका महिलाहरुले व्यक्तिगत पहिचान, विभेद,दुव्र्यवहार, शोषण खेप्न बाध्यभएको बताउनुभयो ।

बस्नेतले संस्थागत विकासका लागि पहिला सदस्यले आफ्ना समस्या उठान गर्नसक्नुपर्ने बताउनुभयो । राज्यको पहुचमा पुग्न एक अर्काको भावना बुझेर साझा मुद्धा लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक सृजना पुन र मञ्चका सल्लाहकार पार्वती बस्नेतले सहजिकरण गर्नुभएको तालिममा पहिलोदिन संस्थागत विकास र दोस्रो दिन पैरवीको बिषयमा छलफल हुनेछ । २००८ मा स्थापना भएको मञ्चले “कामको सम्मान र पहिचान ,सामाजिक सोच र रुपान्तरण सहितको आव्हान ”भन्ने नाराका साथ काम गर्दे आईरहेको छ ।  

  
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update