
बाँके,असाार ३१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पार्नुभयो ।
अस्तव्यस्त जीवनशैलीले मानव स्वास्थ्यमा समस्या देखा परेका छन् । विभिन्न रोग र स्वास्थ्य समस्याले प्रताडित हुनुपर्ने अवस्था छ । निरोगिता र स्वस्थ जीवनशैलीका लागि योग र प्राकृतिक चिकित्सा अत्यन्तै उपयोगी छन् । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ,झ उहाँले भन्नुभयो ।
मुख्यमन्त्री आचार्यले प्राकृतिक चिकित्साको माध्यमबाट धेरै प्रकारका स्वास्थ्य समस्यालाई निर्मूल गर्न सकिने भन्दै यसलाई साझा प्रयत्नबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।गत वर्षदेखि समुदायको सक्रियतामा सञ्चालनमा आएको उक्त अस्पतालबाट योग तथा प्राकृतिक उपचार सेवा प्रदान हुँदै आएको छ ।
लामो समयसम्म पनि निको नभएको नसा च्यापिएको समस्या, पेट तथा टाउको दुखाइ, पिनास, ग्यास्ट्रिकजस्ता रोगहरूलाई प्राकृतिक चिकित्सा विधिबाट निको पार्ने गरिएको छ ।हाल अस्पतालमा दैनिक २० देखि २५ जना सेवा लिन आउने गरेका छन् । संस्थाका अध्यक्ष नमप्रसाद शर्माका अनुसार यहाँ १ जना चिकित्सक तथा १२ जना उपचारक गरी १३ जना कर्मचारी कार्यरत छन् ।