लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, बौद्ध दर्शन केन्द्रित अध्ययन अनुसन्धानमा  जोड

काठमाडौँ, असार ३२  
लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा . तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो । बैठकले वार्षिक नीति तथा कार्यक्रम समेत स्वीकृत गरेको छ । सो अवसरमा विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव ५ मात्रै भएको बैठकलाई अवगत गराइएको थियो ।

त्यस्तै सभाको बैठकले एकेडेमिक क्रेडिट बैंक स्थापना गर्ने निर्णय गरेको छ । जुनसुकै विश्वविद्यालयमा अध्ययन गरी बीचमै छाडेका विद्यार्थीहरुले आफूले ग्रहण गरेको क्रेडिट बैंकमा जम्मा गरी उपाधिका लागि अपुग रहेको क्रेडिट आवर अध्ययन गरी उपाधि पाउन सक्नेछन् । विश्वविद्यालय यससम्बन्धी विनियम बनाई कार्यान्वयनमा लगिने जनाएको छ । 
सभाको बैठकले स्कुल अफ ल स्थापना, देवदह शिक्षा विकास परियोजनाको गुरुयोजना कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ । बैठकमा पेश भएका नियमावली संसोधन गर्ने निर्णयहरु स्वीकृत भएको सदस्य सचिव एवं रजिष्ट्रार आचार्यले जानकारी दिनुभयो।बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बौद्ध दर्शनलाई अन्य विषयहरुमा राखेर प्राध्यपन गराउनु महत्वपूर्ण विषय रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयका हरेक कार्यक्रमहरु बौद्ध दर्शनलाई समेट्नेगरी हुनुपर्ने बताउनु भयो ।

त्यस्तै सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रका रुपमा लैजाने गरी शैक्षिक कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभयो । उहाँले अन्य विश्वविद्यालयभन्दा लुम्बिनी बौद्ध विश्वविद्यालय फरक हुनुपर्ने भन्दै विश्वभरका अध्येताहरु बौद्ध दर्शनको अध्ययनका लागि लुम्बिनी आउने अवस्था बनाउनुपर्ने बताउनुभयो ।
बैठकमा उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी शैक्षिक कार्यक्रमको उपाधि स्थापना, सञ्चालन तथा विद्यार्थी केन्द्रीत शैक्षिक पूर्वाधार निर्माणमा जोड नीति कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो  । एकेडेमिक क्रेडिट बैंक, ड्युल डिग्रीसहितको मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने तथा बौद्ध दर्शन केन्द्रित अध्ययन अनुसन्धानलाई जोड दिने उहाँले बताउनुभयो ।

देवदहमा २० हजार विदेशी विद्यार्थी भर्ना गर्नेगरी पूर्वाधार निर्माणको थालनी गरिएको भन्दै यो पूर्वाधारले ५० वर्षको आवश्यकता पूरा गर्ने उहाँको भनाई छ ।  सभाको बैठकले पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउने स्वीकृति दिएको भन्दै उहाँले दातृ निकायलाइ आह्वान गरिने बताउनुभयो । दुई संकाय, एक स्कुल, दुई आंगिक क्याम्पस र १४ वटा सम्बन्ध तथा सहकार्य क्याम्पस रहेको विश्वविद्यालयमा हाल २९ सय २२ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update