
बुटवल, साउन २७
रैनादेबि छहरा ७ धारापानी पाल्पा जिल्लामा रहेको कुमारीदेवी प्राथमिक बिद्यालयमा अक्षयकोष स्थापना तथा स्टेशनरी वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । रैनादेबि छहरा वडा नम्बर ७ बल्ढेङगढीमा निवासी समाजसेवि,युवा नेता झपिन्द्र रायमाझीले स्वः बुवा निरक बहादुर रायमाझीको स्मृतिमा २५ हजार रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो ।
विद्यालयका प्रधानाध्यापक थमन घर्ती र बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बलबहादुर रास्कोटी सहित अभिभावकको रहोवरमा रायमाझीले सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम प्रदान गर्दै रायमाझीले महेन्द्र राजमार्गको २५ किलोमीटर भित्र वडाको पिछडिएको ठाउँमा अवस्थित बिद्यालयको शैक्षिक सुधारका लागि अक्षयकोष स्थापना गरेको बताउनुभयो । रायमाझीले स्वः वुवाको सम्मानमा हालसम्म २७ वटा बिद्यालयमा अक्षयकोष स्थापना गरेको बताउदैे आफ्नो क्षेत्रको शैक्षिक विकासका लागि लामो समयदेखि निरन्तर लागिरहेको बताउनुभयो ।
अक्षयकोष स्थापनाका अवसरमा विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई कापि,कलम लगायतका शैक्षिक सामग्री वितरण समेत प्रदान गरिएको छ । कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बलबहादुर रास्कोटीले बिद्यालयलाई अक्षयकोष निर्माणका लागि छनोट गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवि नविन खड्का, डालबहादुर सारु ,भुवन सिङ रास्कोटी,कमल ज्ञवाली, अभिभावक बिक्रम रायमाझी,सपना पुन लगायतको सहभागिता रहेको थियो ।