
बुटवल,साउन १६
सबै स्वास्थ्यकर्मी मात्रै आवद्ध रहेको क्लब हो , रोटरी ई क्लब अफ मेडिको फ्युजन हाईब्रिड नेपाल ।
स्वास्थ्य क्षेत्रमा उल्लेख्य जनचेतना फैलाउने यो क्लबको उदेश्य रहेको छ भने रोटरीको आफ्नै वार्षिक थिम पनि छ । क्लबले विश्व हेपाटाइटिस दिवस २०२५ को अवसरमा साईनो केन्द्र रुपन्देहीमा ‘हेपाटाइटिस जनचेतना तथा स्क्रिनिङ कार्यक्रम’ सम्पन्न गरेको छ।
रोटरी ई क्लब अफ मेडिको फ्युजन हाईब्रिड नेपालको आयोजनामा साईनो केन्द्रमा रहेका ५० जनाको हेपाटाइटिस बी स्क्रिनिङ, अल्ट्रासाउन्ड परीक्षण गरिएको हो । कार्यक्रममा क्लबका वर्ष २०२५/२०२६ का अध्यक्ष डा.मन्जु गुभाजुले रोटरीको मुलमन्त्रलाई आत्मसात गरेर आफुहरु स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताउनुभयो ।
सचेतनामुलक प्रारम्भिक परीक्षण र खोप मार्फत हेपाटाइटिसको नियन्त्रणमा सशक्त भूमिका खेल्ने लक्ष्यसहित कार्यक्रम गरिएको भन्दै परिक्षणबाट आएको रिर्पोटको आधारमा थप उपचार र खोपको तयारीसमेत भएको उहँँको भनाई छ । क्लबबाट निःशुल्क स्वास्थ्य शिविर र सचेतना कार्यक्रम निरन्तर रुपमा आयोजना गर्ने प्रतिबद्धता अनुसार काम गर्ने बताउनुभयो ।
कार्यक्रममा डा. साहिल भुसालले हेपाटाइटिस रोगबारे जानकारी दिँदै रोगका प्रमुख प्रकारहरू, जोखिमयुक्त व्यवहार र सुरक्षात्मक उपायहरूबारे बताउनुभयो । उहाँले हेपाटाइटिस बि र सि दीर्घकालीन कलेजो क्षतिको प्रमुख कारण बन्न सक्ने समेत जानकार दिनुभयो ।
संक्रमित रक्त, सुईको प्रयोग, असुरक्षित यौन सम्पर्क र आमाबाट शिशुमा सर्ने संक्रमण हेपाटाइटिस बि र सि को प्रमुख संक्रमण मार्ग भएको र रोगबाट जोगिनका लागि खोप लगाउने, सुरक्षित अभ्यास अपनाउने र सुरुवातमै परीक्षण गरी उपचार सुरु गर्नु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा डा. अभिषेक बज्राचार्य र डा. विजय भण्डारीले निःशुल्क अल्ट्रासाउन्ड स्क्रिनिङ सेवा प्रदान गर्नुभएको थियो । परीक्षणका आधारमा आवश्यक देखिएका ५० जना बिरामीहरूलाई हेपाटाइटिस बि को खोप लगाउने योजना बनाइएको क्लबका सचिव विजय भण्डारीले बताउनुभयो । नयाँ नेतृत्वमा आएपछि देशभर बृक्षरोपण गरेर शुरुवात गरिएको कार्यकालको यो दोस्रो कार्यक्रम हो ।