रुपन्देहीमा मधुमेह र मानसिक स्वास्थ्य सम्बन्धि प्रशिक्षण

बुटवल,असोज ९ 
विश्व फार्मासिष्ट दिवसको अवसरमा नेपाल फार्मेसी संघ रुपन्देहीमा मधुमेह र इन्सुलिन सम्बन्धि प्रशिक्षण तथा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । विश्व फर्मासिष्ट दिवसको अवसरमा संघले बिहिबार बुटवलमा मधुमेह र मानसिक स्वास्थ्य सचेतना सहित शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा थापाले गुणस्तरीय स्वास्थ्य सेवाको लागि औषधिसंग सम्बन्धित हरेक स्थानमा फर्मासिष्टको व्यवस्था हुनुपर्ने बताउँदै त्यसका लागि संघले निरन्तर पहल र पैरवी गरिरहन आग्रह गर्नुभयो । 

उहाँले आफूले नेतृत्व गरेको संस्थामा सुशासन कायम गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताउँदै कुनै त्यस्ता सूचनाहरु भए आफूलाई दिन पनि आग्रह गर्नुभयो । कार्यक्रममा संघका अध्यक्ष चोकलाल सापकोटाले फार्मासिष्ट दिवस फर्मासिष्टहरुको लागि ठूलो पर्व भएको बताउँदै संघले उठान गरेको ‘जहाँ औषधी त्यहाँ फर्मासिष्ट’को नारालाई गन्तव्यमा पु¥याएर कार्यान्वयन गराउने अभियानमा साथ दिन फर्मासिष्टहरुलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा संघका केन्द्रीय सचिव ध्रुव शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष खेमप्रसाद तिवारी, रुपन्देहीका संस्थापक अध्यक्ष गणेश सेढाई, कार्यक्रम संयोजक संघका कोषाध्यक्ष पिताम्बर अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा नेपाल फार्मेसी संघ बागमती प्रदेशका सचिव जनार्दन पाठक र मानसिक रोग विशेषज्ञ डा. मनोज ढुंगानाले क्रमशः मधुमेह र इन्सुलिन तथा मानसिक स्वास्थ्य सम्बन्धि प्रशिक्षण गर्नुभएको नेपाल फार्मेसी संघ रुपन्देहीका महासचिव महेश पाण्डेले जानकारी गराउनु भयो । 

अन्तर्राष्ट्रिय फार्मास्युटिकल महासंघ (एफ.आई.पी.) परिषदको सन् २००९ मा टर्कीमा बसेको बैठकले सेप्टेम्बर २५ लाई विश्व फार्मासिष्ट दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता प्रत्यक वर्ष २५ सेप्टेम्बरमा फार्मासिष्ट दिवस मनाउँदै आईएको छ। नेपाल फार्मेसी संघ रुपन्देहीका संस्थापक अध्यक्ष गणेश सेढाईका अनुसार सन् २०१५ मा नेपाल फार्मेसी संघ गठन गरिएको थियो। त्यस्तै रुपन्देहीमा २०७८ मा जिल्ला शाखा गठन गरिएको थियो । 

फार्मासिस्ट औषधिका विज्ञ हुन्, औषधिको प्रयोगमा देखिने समस्यालाई समाधान गर्न र औषधि वितरणदेखि परामर्शसम्मको चरणमा हुने त्रुटिहरुलाई न्यून गरी विरामीको स्वास्थ्य रक्षा गर्नमा फार्मासिष्टहरुले अहम् भूमिका खेल्छन् भन्ने कुरालाई जोड दिँदै संघले ‘जहाँ औषधी, त्यहाँ फर्मासिष्ट’को नारा अगाडि सारेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update