बुटवल,मंसीर २२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम बस्तीमा उपचार सेवा पु¥याउन स्वास्थ्य शिविरलाई अभियानका रुपमा अघि बढाइने बताउनुभएको छ । स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका नागरिकका लागि निःशुल्क शिविर प्रभावकारी बन्दै गएकाले सरकारले पनि यसलाई प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभएको हो ।
छत्रदेव गाउँपालिका–५ मा स्थानीय सरकारसँगको समन्वयमा छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने महत्वपूर्ण माध्यमका रुपमा शिविरले योगदान दिएको बताउनुभयो ।‘स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका नागरिकको उपचारका लागि समाजले थालेको यो अभियान प्रशंसनीय छ । यसले दूरदराजका समुदायलाई घरमै निःशुल्क उपचार सेवा उपलब्ध गराउन मद्दत पु¥याइरहेको छ’उहाँले भन्नुभयो,‘यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक छ ।’ समाजले विगत तीन बर्षदेखी नियमित रुपमा शिविर सञ्चालन गर्दै आएको छ ।
छत्रगञ्ज-रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको शिविरमा निःशुल्क भिडियो एक्सरे, औषधि, ल्याब सेवा, इसिजी, आँखा तथा दाँत परीक्षणलगायतका सुविधा प्रदान गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्ने अन्य वक्ताले पनि स्वस्थ र उत्तरदायी समाज निर्माणमा स्वास्थ्य शिविरहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

