बुटवल, पुस १९
रोटरी क्लब अफ तिनाउ बुटवलले शनिबार आफ्नो दशौं स्थापना दिवस मनाएको छ । क्लबले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ सिमानगरस्थित हाम्रो सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेर स्थापना दिवस मनाएको हो ।
क्लबले विद्यालयमा अध्ययनरत १ सय ५५ जना बालबालिकालाई जाडोको न्यानो कपडा स्वीटर र स्टेशनरी वितरण गरेको क्लबका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका संयोजक रमिला शर्माले जानकारी दिनुभयो । बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि क्लबका एसिस्टेन्ट गभर्नर दिनेशमणी सुवेदीले रोटरी अभियान शुद्ध सामाजिक सेवाको भाव बोकेर अगाडी बढेको संस्था भएको बताउनुभयो ।
उहाँले रोटरीले पोलियो उन्मुलन देखि शिक्षा, स्वास्थ्य,सरसफाई,वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । सदस्यहरुले आफ्नो सानो -सानो खर्चबाट बचाएर यो चिसोमा बिद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर , स्टेशनरी वितरण गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो।
रोटरी क्लब अफ तिनाउ बुटवलले फजुल खर्च नगरी विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरी आफ्नो स्थापना दिवस मनाएको भन्दै प्रशंसा गर्नुभयोे ।
रोटरी तिनाउको मातृ क्लब ,रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष पुरन ज्ञवालीले रोटरीले चिसोमा बालबालिकालाई न्यानो कपडा वितरण गरेर पुण्यको कामगरेको बताउनुभयो । उहाँले रोटरीले गर्ने कामहरु मध्ये शिक्षा पनि एक महत्वपुर्ण बिषय भएकाले शिक्षाको क्षेत्रमा थप टेवा पुगोस् भन्ने उदेश्यले रोटरी तिनाउले बिगत दश बर्षदेखि गर्दै आएको सहयोगले बिपन्न परिवारका बिद्यार्थीहरुलाई सहयोग पुगेको बताउनुभयो ।
क्लबका अध्यक्ष उमा आचार्यले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विद्यालयका बालबालिकाहरुको आवश्यकतालाई मध्यनजर गरी न्यानो कपडा र स्टेशनरी वितरण गरिएको जानकारी दिनुभयो ।
क्लबका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका संयोजक रमिला शर्माको स्वागत, ईलेक्ट प्रेसिडेन्ट माया भट्टराईको धन्यवाद तथा सचिव सबिता निरौलाको सञ्चालनमा भएको कार्यक्रममा क्लबका पूर्ब अध्यक्ष जमुना पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष ओम गुरुङ, प्रधानाध्यापक घनश्याम घिमिरेले सामाजिक संघसंस्था र क्लबहरु समाज परिवर्तनका संवाहक बन्नुपर्ने बताउदै शिक्षामा गरेको लगानी खेर नजाने बताएका थिए ।
कार्यकममा क्लबका पुर्ब अध्यक्षहरु अमृता भुसाल,प्रतिमा भट्टराई, ज्ञानधरा पन्थ,कल्पना तिवारी,रोटरी क्लब अफ सेन्ट्रल बुटवलका सचिव मिनराज भारद्धाज,रोट्र्याक्ट क्लब अफ तिनाउ बुटवलका सचिव सिर्जना भट्टराई, बिद्यार्थी, शिक्षक, अभिभावकको उल्लेख्य सहभागिता रहेको थियो ।
२०६३ देखि बालकोटा बाट संचालनमा आएको बिद्यालयले २०७३ मा स्वीकृति प्राप्त गरेको थियो । हाल बिद्यालयमा १ सय ७० जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् । रोटरी तिनाउ शतप्रतिशत महिला सदस्य भएको क्लब हो ।

