बुटवल ,माघ १६
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले हरेक वर्ष फागुन १५ गते मनाउँदै आएको वार्षिकोत्सवलाई यस वर्ष पनि विविन्न सामाजिक उत्तरदायित्वका क्रियाकलाप तथा प्रतियोगितात्मक गतिविधिसहित मनाउने भएको छ । वार्षिकोत्सव तयारीका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजयमान श्रेष्ठको उपस्थितिमा बसेको बैठकले विभिन्न समिति तथा उपसमिति गठन गरि तयारीलाई अघि बढाएको छ ।
अस्पतालले यही फागुन १५ गते ११५ वर्ष पूरा गरि ११६ वर्षमा प्रवेश गर्दैछ । चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स तथा कर्मचारीहरुसहित करिब ९ सय जना कार्यरत रहेको लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा वार्षिक साढे ३ लाख बढीले स्वास्थ्य सेवा लिने गर्दछन् ।
वार्षिकोत्सवको अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान, अभिमुखिकरण, रक्तदान तथा फलफूल वितरण, सरसफाई तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याटमिन्टन, म्याराथन लगायतका प्रतियोगिताहरु आयोजना गरिने मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिनुभयो । ढकालले कविता वाचन प्रतियोगिता, हाजिरी जफाव लगायतका बौद्धिक प्रतिस्पर्धा समेत गराइने बताउनुभयो ।
आगामी शनिबारदेखि नै प्रतियोगितात्मक गतिविधि सुरु गरि मूल समारोहका दिन भव्य रुपमा वार्षिकोत्सव मनाउने तयारी भएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी गराउनुभयो ।

