बुटवल, माघ २९
विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले बुटवल स्थित दीप बोर्डिङ हाई स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको ‘दीप गायन तारा’ प्रतियोगिताको १३ औं संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । यसपटक प्रतियोगिता विद्यालयको ४५ औं वार्षिकोत्सवसँग जोडेर विशेष रूपमा आयोजना गरिएको हो ।प्रतियोगिताको पहिलो चरणअन्तर्गत शुक्रबार प्रारम्भिक छनोट प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले वार्षिकोत्सवको सन्दर्भ पारेर ४५ जना विद्यार्थीबीच प्रतिस्पर्धा गराउने लक्ष्य राखिएको बताउनुभयो । हालसम्म ४२ जना विद्यार्थीले नाम दर्ता गराइसकेको जानकारी पनि उहाले जानकारी दिनुभयो ।
प्रतियोगितालाई निष्पक्ष बनाउन आयोजक विद्यालय दीप बोर्डिङका विद्यार्थीलाई सहभागी नगराई जिल्लाका अन्य विद्यालयका विद्यार्थीलाई मात्र अवसर दिइएको सह–प्राचार्य कलाधर अर्यालले स्पष्ट पार्नुभयो । उहाका अनुसार प्रतियोगिता फागुन ४ गते अन्तिम प्रतिस्पर्धा सम्पन्न हुनेछ । विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।प्रारम्भिक चरणबाट उत्कृष्ट १५ जना छनोट गरी अन्तिम प्रतिस्पर्धामा उतारिनेछ । उपविजेताले ३० हजार, तृतीय स्थान हासिल गर्नेले २० हजार तथा सान्त्वना हुने दुई जनाले जनही ५- ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताबाट अहिलेसम्म अस्मिता चापागाईँ, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवील परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी, रिदिमा सिजाली र विशेष भुर्तेल गरी १२ जना विद्यार्थी दीप गायन तारा बन्न सफल भइसकेका छन्। यसैबीच, विद्यालयको ४५ औं वार्षिकोत्सवअन्तर्गत बुधबारदेखि खेलकुद सप्ताह सुरु भएको सह–प्राचार्य सुरेन्द्र शाक्यले जानकारी दिनुभयो । माघ २९ गतेदेखि विभिन्न कक्षास्तरका प्रतिभा प्रतिस्पर्धा सञ्चालनमा छन् । फागुन ५ गते मूल समारोह आयोजना गरी वार्षिकोत्सव मनाइने तयारी गरिएको सह प्राचार्य ज्ञानु थापाले जानकारी दिनुभयो ।
हाल विद्यालयमा करिब २ हजार ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्थापनाकालदेखि अहिलेसम्म ११ हजार ५ सयभन्दा बढी विद्यार्थीले एसएलसी तथा एसईई उत्तीर्ण गरिसकेका छन्। यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजासहित दुई विद्यार्थीले ४।० जीपीए ल्याउन सफल भएको विद्यालयले जनाएको छ। कक्षा १२ तर्फ पनि दुई विद्यार्थी नेपाल प्रथम र द्वितीय हुन सफल भएका छन् भने विज्ञान संकायमा शतप्रतिशत नतिजा हासिल गरिएको छ ।
वार्षिकोत्सवका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र ध्वजुले बुटवललाई शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउनुभयो । विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा अघि बढाउन शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको सामूहिक भूमिका महत्वपूर्ण रहेको उहाले जोड दिनुभयो ।
त्यसैगरी विद्यालयका पूर्व विद्यार्थीहरूको संस्था एसोसिएसन अफ दिप बोडिङ्ग एक्स स्टुडेन्ट ९एडिबीइएसटी० ले वार्षिकोत्सवको अवसरमा २०८२ फागुन २ गते भूपू विद्यार्थी बृहत् मेला तथा फागुन ४ गते बिहान ८ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ। दीप बोर्डिङ हाई स्कुल रुपन्देहीको पुरानो संस्थागत विद्यालयका रूपमा परिचित छ ।

